भदौ २१ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक भयरहितरूपमा बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १००औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरू सामना गर्न सरकार सक्षम रहेको बताएका छन् ।
उनले सरकार सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको र आवश्यक पहल गरिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले आवश्यक सबै उपायको अवलम्बन गरेर अपराधलाई निरुत्साह गर्ने विश्वास दिलाए ।
प्रधानमन्त्रीले अपराधीहरूले प्रविधिको दुरुपयोग गरी गैरकानूनी क्रियाकलाप गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्व अतुलनीय रहेको उल्लेख गरे । उनले भने, “यस डिजिटल युगमा जहाँ अपराधीले प्रविधिको दुरुपयोग गरी आफ्ना नराम्रा क्रियाकलाप सञ्चालन गर्छन्, त्यहाँ अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्त्वलाई थप सबल बनाउनुपर्छ ।”
विश्वव्यापी परिदृश्य र सम्बन्धित मुद्दामा चिन्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “विश्वले अभूतपूर्व चुनौतीको सामना गरिरहेको छ, जसमा अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर खतरा र आतङ्कवादको वृद्धि समावेश छ । म सबै राष्ट्रहरूलाई विश्वव्यापी, क्षेत्रीय र उपक्षेत्रीयस्तरहरूमा अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह गर्दछु ।”
प्रधानमन्त्रीले उदीयमान खतरालाई प्रभावकारीरूपमा लड्न हामीले सूचना आदान–प्रदान, खुफिया आदान–प्रदान र क्षमता निर्माणलाई बढाउनुपर्नेमा जोड दिए ।
सरकारले अन्तर्राष्ट्रिय प्रहरी प्रयासलाई समर्थन गर्ने सर्वोपरि महत्त्वलाई मान्यता दिएको तथा यस प्रयासमा सक्रिय साझेदार भई हाम्रा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रियस्तरमा सङ्गठित अपराध, साइबर अपराध र आतङ्कवादको वृद्धि भइरहेको भन्दै यसको नियन्त्रण गर्न आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उल्लेख गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज…







