मनाङेद्वारा नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य अस्वीकार


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०८० मा प्रकाशित




फाइल तस्विर

पोखरा, भदौ २९

गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका छन् । मनाङ (ख) बाट निर्विरोध निर्वाचित गण्डकी प्रदेश सभा सदस्य मनाङेले सो पार्टीको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका हुन् । सांसद मनाङेले शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पार्टीले मनोनित गरेको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेको जनाएका हुन् ।

मनाङेलाई केहि दिन अघिमात्र नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पार्टीको केन्द्रीय परिषद सदस्यमा मनोनित गरेको थियो । उनले आफूसँग सल्लाह नगरी आफूलाई परिषद सदस्यमा मनोनित गरिएको भन्दै असन्तुष्टी जनाएका छन् । उनले जनताबाट निर्वाचित सांसद जनताप्रति नै उत्तरदायी हुनुपर्ने भएकाले आफूले पार्टी काममा ध्यान दिन नसक्ने बताएका छन् । उनले भनेका छन्,‘यो निर्णय र जिम्मेवारी मसँग सल्लाह गरि गरिएको होईन । जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनताप्रति नै जिम्मेवार हुनुपर्दछ । जसका कारण पार्टीका काममा समय दिन नभ्याईने पनि हुनसक्छ ।’

सांसद मनाङेले ‘एक व्यक्ति एक पद’ पार्टीको नीति भएकाले त्यसलाई व्यहारमा उतार्न आग्रह गरेका छन् । एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होईन भन्दै उनले भनेका छन्,‘एक व्यक्ति एक पदको नारा नारामा मात्र सिमित् नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु ।’ सांसद मनाङेले बरु आफूलाई दिइएको पद पार्टीकै अन्य योग्य युवालाई दिन आग्रह गर्दै त्यसो गर्दा पार्टीलाई बढी फाईदा हुने उल्लेख गरेका छन् ।

२०७९ सालको आवधिक चुनावमा स्वतन्त्रबाट निर्विरोध निर्वाचित मनाङे गठबन्धनबाट गण्डकी प्रदेश सरकार बनाउने कसरत भएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । मन्त्री बनाउने आश्वासनपछि सो पार्टीमा प्रवेश गरेपनि कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा मन्त्री मण्डलमा अटाएनन् । त्यसपछि पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका उनले सो पार्टीको युवा संघमा समानान्तर गतिविधिसमेत गर्दै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।