असोज २ भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको लौहपुरुष स्व गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गरेका छन् ।
गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान वाटिकास्थलमा निर्माण गरेको शालिकको उहाँले अनावरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताए ।
सारा नेपालीले नेता मानेको एक मात्र व्यक्ति गणेशमान सिंह नै भएको बताउँदै उनले भने, “गणेशमानलाई म सधैँ सर्वमान्य नेता मान्छु, देशमा एकपटक सारा नेपालीले नेता मानेको व्यक्ति गणेशमान नै हो, को वामपन्थी, को दक्षिणपन्थी सबैले नेता मानेका र २०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि आफ्नै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्ने नेता उहाँ नै हो ।”
विसं २००७ बाटै प्रजातन्त्र उदयको युग सुरु भएको भन्दै राष्ट्रपति पौडेलले २०१७ सालसम्म देशलाई आधुनिक युगमा डो¥याउने कालखण्डको रूपमा लिइए पनि विसं २०१७ मा निरङ्कुश शासनपछि विसं २०४६ को जनआन्दोलन र उपलब्धिमा उनकै देन रहेको चर्चा गरे ।
जहानियाँ राणा शासनदेखि एकतन्त्रीय पञ्चायती शासन विरुद्ध अधिकार स्थापित गर्न प्रजातन्त्र प्राप्तिका लागि कठिन योगदान दिने योद्धाको नाम गणेशमान हो भन्दै राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिँदा पनि नलिएर समकक्षी नेतालाई सुम्पेर त्याग, आदर्श र निष्ठाको राजनीति गरेर उनले सबै दलका नेतालाई प्रेरणा दिएको बताए ।
उनले भने, “यो ठाउँमा गणेशमानजीको शालिक बन्यो, वाटिका बन्यो भनेर कसैले चित्त दुखाउनुपर्ने ठाउँ छैन, बरु खुसी हुनुहोस्, यो देशका अमूल्य निधिको ठाउँ बन्न पुगेको छ, यस क्षेत्रलाई आन्तरिक मात्रै नभई विदेशबाट आउने पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुहोस् ।”
राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्वसांसद स्व रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गरे । स्व ढुङ्गेलका छोरा अनुप र नाति अक्षेप ढुङ्गेललाई उक्त सम्मानपत्र हस्तान्तरण गरे । साथै गणेशमान सिंहको प्रतिमा निर्माण गर्ने कलाकार महेश तुलाधरलाई पनि उनले सम्मान गरे । उनले समितिले प्रकाशन गरेको स्मारिक गणेशमान वाटिकाको विमोचन गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





