फाइल तस्विर
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताएका छन ।
एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए । अध्यक्ष ओलीले उपलब्धिलाई समाप्त पार्न छिटपुटरूपमा प्रयास भइरहेका उल्लेख गरे ।
“कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप छिटपुटरूपमा हुने गरेका देखिएका छन्”, उनले भने, “त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई खल्बल्याउने खालका कुरा सकारात्मक हुन सक्दैनन् ।”
अध्यक्ष ओलीले देशको उन्नति तथा जनताको एकताका लागि विभाजनकारी प्रवृत्ति र जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्टिय एकतामा खलल पुर्याउने प्रवृत्ति कुनै राजनीतिक मतभावको हिसाबले गरिने त्यस्ता खालका क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको उल्लेख गर्दै एकतालाई कमजोर पार्न नहुने विचार व्यक्त गरे । नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन नहुने र एकतालाई कमजोर हुन दिन नहुने उनको भनाइ थियो । अध्यक्ष ओलीले दिवसले एकताको सन्देश दिएको भन्दै आगामी वर्षमा दिवसलाई राष्ट्रियस्तरमा मनाइने बताए ।
“राष्ट्रिय एकताका साथ सिङ्गो देश एकजुट भएर राष्ट्रका लागि सही बाटोमा अगाडि बढाँै भन्ने दिवसले आग्रह गर्दछ”, उनले भने । संविधान दिवस एउटा पार्टी, जाति विशेषको नभई सम्पूर्ण जनताको साझा उपलब्धि र सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस भएको उनले बताए ।
कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेतासमेत सहभागी थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





