अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०८० मा प्रकाशित




अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागीले ‘हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन’, ‘संक्रमणकालीन न्याय पीडितमैत्री र मानवअधिकारमैत्री बनाउ’, ‘मानवता विरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेउ’, ‘सत्य निरुपण गरी पीडितलाई न्याय देउ’ लगायतका प्लेकार्डसहित अपिल गरेका थिए ।

प्रदर्शनपछि शान्ति समाजका निवर्तमान अध्यक्ष गोविन्द खनालले द्वन्द्वमा बाल सैन्य प्रयोग हुनुका साथै गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटना भएका प्रमाणित भइसकेकाले त्यस्ता घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताए । अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार बाल सैन्य प्रयोग गर्नु युद्ध अपराध भएकाले सरकारले उन्मुक्ति दिएमा अन्तर्राष्ट्रिय जगतले अस्वीकार गरी हस्तक्षेप गर्ने उनको भनाइ थियो ।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्ष दिने भनी सरकारले अगाडि बढाएको विधेयकले गम्भीर प्रकृतिका मानवताविरुद्धका अपराधमा संलग्नलाई आम माफी दिने र पीडितले न्याय नपाउने अवस्था रहेकाले यो स्वीकार्य नहुने खनालले बताए ।

कार्यक्रममा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्ण भट्टराईले विश्वमा शान्ति कायम गर्न युवाहरुको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए। शान्ति समाज रुपन्देहीले आयोजना गरेको कार्यक्रममा स्थानीय विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।