नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८० मा प्रकाशित




असोज ७ बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गरे ।

चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेको सम्मेलनमा उनले भने, “हामीले लगानीमैत्री वातावरण बनाउनका लागि सम्बन्धित नीति तथा कानून संशोधन तथा अद्यावधिक गरेका छौँ, त्यसैले अहिले नेपालमा लगानीको वातावरण राम्रो बनेको छ ।”

प्रधानमन्त्री दाहालले नेपालमा पर्यटन, पूर्वाधार, उर्जा, कृषि, औषधिजन्य उत्पादनलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन पनि आग्रह गरे । “नेपालमा पछिल्लो समय लगानीको वातावरण बनेको छ, सम्भावना भएका क्षेत्रमा लगानी गरी लाभ लिन म यहाँहरूसमक्ष आग्रह गर्दछु”, चिनियाँ लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपालमा श्रम कानून पनि लगानीमैत्री र लचिलो छ ।”

उनले नेपालमा कर पनि तुलनात्मकरूपमा कम रहेको भन्दै लगानीको उचित वातावरण बनेको स्पष्ट पारे । नेपालमा लगानीको सुरक्षा र आवश्यक एवं उचित वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचको सम्बन्ध प्राचीन तथा ऐतिहासिक भएको उल्लेख गरे । “पाँचौँ शताब्दीमा नेपाली भिक्षु बुद्धभद्रले चीनको भ्रमण गर्नुभएको थियो भने सातौँ शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह गरी दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको थियो, १३औँ शताब्दीमा नेपाली कलाकार अरनिकोले चीन आएर वास्तुकलाको क्षेत्रमा योगदान दिनुभएको थियो”, उनले भने । प्रधानमन्त्री दाहालले सोही समयदेखि हिमालवारि र हिमालपारिको व्यापार सुरु भएको समेत भनाइ राखे ।

सो अवसरमा उनले चीन नेपालका लागि प्रत्यक्ष वैदेशिक लगानीका लागि ठूलो स्रोत र व्यापारका दृष्टिले दोस्रो मुलुक भएको बताए । नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि, भौतिक पूर्वाधार सुधार आवश्यक रहेको बताए ।

“नेपालबाट चिया, जडीबुटी, कागती, भैँसीको मासु, कफी, अदुवालगायतका उत्पादन निर्यातको प्रचुर सम्भावना भएकाले यी वस्तुको उत्पादनमा हामीले प्राथमिकता दिएका छौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “यसका लागि हामीले प्राविधिक अवरोध न्यूनीकरण गर्दै यस्ता उत्पादन प्रशोधनका क्षेत्रमा काम गरिरहेका छौँ ।”

नेपाल सन् २०२६ मा अति कम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य लिएको उनले बताए । “हामीले सन् २०१७ मा चीन सरकारसँग ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा आबद्ध भएका छौँ, अहिले हामी कार्यान्वयनको अन्तिम तयारीमा छौँ”, उनले भने । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।