प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा ल्हासास्थित पोटाला दरबार र जोखाङ मन्दिर अवलोकन


     एभरेस्ट आवाज    
     असाेज १० गते २०८० मा प्रकाशित




असोज १० ल्हासा । चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन भ्रमण गरेका छन् ।

समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई संयुक्त राष्ट्रसङ्घीय सैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को)ले सन् १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको थियो ।

पोताला दरबार एतिहासिक एवं तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुन्द्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो । पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरूले दरबारका बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोखाङ मन्दिरको पनि अवलोकन भ्रमण गरे । जोखाङ मन्दिरलाई पनि युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ ।

यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए । यो मन्दिर बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र स्थलका रुपमा रहेको छ ।

यस मन्दिरमा राखिएको शाक्यमुनि बुद्धको मूर्तीलाई भक्तजनले विशेष महत्त्वका साथ सम्मान गर्छन् । मन्दिरको भ्रमणका गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्याहाँका अधिकारीहरूले मन्दिरका बारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले गर्नुभएको दुवै ठाउँको भ्रमणका क्रममा चीन भ्रमण दलमा संलग्न भ्रमण दलका सदस्यहरू पनि सहभागी रहेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।