पोखरा, असोज १४
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा शुरु हुँदैछ । देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकीको अधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले गण्डकीले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
अधिवेशनको उद्घाटनअघि एमालेले पोखराका विभिन्न चार स्थानबाट ¥याली निकाल्ने जनाएको छ । एमाले गण्डकीले हस्पिटलचोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्कबाट गरेर चार स्थानबाट ¥याली निकालेर अमरसिंचौर पुगेपछि उद्घाटन सभामा परिणत हुने जनाएको छ । उद्घाटन सभालाई एमालेले शक्ति प्रदर्शनका रुपमा हेरेको छ । त्यसैले उसले कास्कीका सबै पालिकाका वडाहरुमा निःशुल्क बसको व्यवस्था गरेको छ । कास्की बाहेकका नजिकका जिल्लाका पालिकाहरुबाटपनि बस व्यवस्था गरेर मान्छे उतार्ने तयारी गरेको छ ।
अधिवेशनमा ९०७ जना प्रतिनिधि रहने एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिए । उनका अनुसार कास्कीबाट १४६, स्याङ्जाबाट ११३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट ११०, नवलपुरबाट १०९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिका रुपमा सहभागि हुनेछन् ।
प्यानल बनाउन नपाईने
एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाउन बन्देज लगाइएको छ । प्यानल बन्ने सम्भावित अवस्थालाई मध्यनजर राखेर नेतृत्वले प्यानल बनाउन बन्देज लगाएको हो । गण्डकीमा पूर्व मूख्यमन्त्री द्वय पृथ्वी सुब्बा गुरुङ (पिएस) र खगराज अधिकारी (केआर)को दुई समूह छ । यी दुई समूहबाट प्यानल बन्ने सम्भावित परिदृश्य देखेरै नेतृत्वले प्यानल बनाउन बन्देज लगाएको निकट श्रोत बताउँछ ।
एमाले सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरिने बताए । तर सहमति नभएमा आन्तरिक जनवादको अभ्यास गर्ने पार्टी एमाले भएकाले लोकतान्त्रिक प्रणालीलाई खुल्ला गरिने उनको भनाई छ । अर्थात चुनावी प्रतिष्पर्धाको बाटोपनि खुल्ला गरिने उनले बताए । सहमति कायम गर्न सक्यौं भने त्यो पार्टीको हितमा हुन्छ र त्यसका लागि पहलपनि भइरहेको छ,उनले भने,‘यदी त्यसो हुन नसकेमा लोकतान्त्रिक अभ्यास गर्छौं ।’ उनले चुनावी प्रतिष्पर्धा गर्न पाईने भएपनि प्यानल बनाएर चुनाव लड्न भने नपाईने बताए । प्यानल खडा गरेर चुनाव लड्न पाईंदैन र दिईदैन,उनले भने,‘अस्वस्थ प्रतिष्पर्धा गर्ने, प्यानल बनाएर चुनाव लड्ने अधिकारी कसैलाई दिईदैन र त्यो छुटपनि छैन ।’ उनले गण्डकीमा पृथ्वी सुब्बा र खगराजको दुई समूह छ भनेर हल्ला चलाएपनि वास्तविकता त्यस्तो नपाएको दाबी गरे । ‘उहाँहरुसँग बसेर घण्टौं छलफल गरेको छु, मैले उहाँहरुबीच नमिल्नेगरी अन्तरविरोध देखेको छैन । हार्दिकता नै देखेको छु । त्यसैले एकपटक सामुहिक बसेर छलफल गरेपछि कुरा मिल्छ भन्ने नै लाग्छ ।’
अध्यक्षमा आधा दर्जन आकांक्षी
एमाले गण्डकीको अध्यक्षमा आधा दर्जन आकांक्षी देखिएका छन् । एमाले गण्डकीको अध्यक्षका लागि वर्तमान अध्यक्ष नवराज शर्मासहित ६ जनाले दाबेदारी प्रस्तुत गरेका हुन् । आकांक्षीहरुले पिएस र केआरको आशिर्वाद रहेको दाबी गर्छन् । कतिपय भने समूह अदलबदलमासमेत लागेको श्रोत बताउँछ ।
अध्यक्षका दाबेदारहरुमध्ये पिएस समूहबाट नवराज शर्मा, धनञ्जय दवाडी, सोभियत ढकाल र राजिव पहारी छन् । केआर समूहबाट भने मायानाथ अधिकारी र कृष्ण थापाको चर्चा छ । तर राजिव पहारीले समूह परिवर्तन गरेर केआर समूहबाट चुनाव लड्ने सम्भावनापनि रहेको श्रोत बताउँछ । पहारी आफैले भने आफू सर्वसम्मत नेतृत्वको पक्षमा रहेको बताए । सकभर सर्वसम्मत नै हुने चाहना छ,उनले भने,‘सहमति भएन भनेचाहिं साथीभाई र प्रतिनिधिहरुसँग छलफल गरेर निर्णय गर्छु ।’ आवश्यक्ता प¥यो भने चुनाव लड्नपनि तयार रहेको उनको भनाई छ ।
उसो त मायनाथपनि पहिले पिएसकै समूहमा थिए । तर पिएसले यसपटक नवराज र धनञ्जयलाई प्राथमिकतामा राखेपछि उनी अहिले बिच्किएर केआर समूहमा पुगेको बताईन्छ । श्रोत भन्छ,‘पिएसले मायानाथलाई यसपटक प्रतिनिधि हुन नै रोक्न खोजेका थिए । कसो कसो धन्न प्रतिनिधि भएर आए । त्यसैले अहिले उनी केआर समूहमा छन् ।’
अध्यक्षका दाबेदार नवराज शर्मा भने आफू कुनैपनि गुटमा नभएको जिकीर गर्छन् । म कुनैपनि गुटमा छैन,उनले भने,‘दुबैलाई मिलाएर लैजान सक्ने पात्र मै हुँ । त्यसैले दुबैको समर्थनमा पुनः अध्यक्ष बन्नसक्छु ।’ उनले कास्कीमा पिएस र केआर समूह भनेर विभाजित भएपनि अन्य जिल्लामा त्यस्तो नरहेकाले चुनाव लड्दापनि आफू बिजयी हुने दाबी गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





