एसियाड क्रिकेट : नेपाल भारतसँग २३ रनले पराजित


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८० मा प्रकाशित





चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन बनायो । भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय पारी खेले । उनले ४९ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै एक सय रन बनाए । साथै रिङ्कु सिंहले ३७ तथा ऋतुराज गायक्वाड र शिवम दुवेले समान २५र२५ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एकरएक विकेट लिए ।

दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चार छक्काको सहायतामा ३२ रन बनाए । साथै सन्दीप जोरा र कुशल मल्ले समान २९र२९ रन बनाए भने कुशल भुर्तेलले २८ रनको योगदान दिए । करण केसी १८ रनमा अविजित रहे ।

भारतका लागि आवेश खान र रवी विस्नोइले समान तीनरतीन विकेट लिए भने अर्शदीप सिंहले दुई तथा साई किशोरले एक विकेट लिए । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।