एमाले गण्डकीको नया नेतृत्व छान्न बुधबार चुनाव,पिएस र खगराज फेरी आमनेसामने


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८० मा प्रकाशित




पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको नया नेतृत्व छान्न बुधबार चुनाव हुने भएको छ । एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नया नेतृत्व छान्न बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको छ ।

निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बुधबार पूर्वाह्न १० बजे उम्मेदवारी फिर्ता लिने समय दिईने र १ बजेदेखि चुनाव हुने जानकारी दिए ।

सोमबार उद्घाटन भएर शुरु भएको एमाले गण्डकीको प्रथम अधिवेशनमा बुधबारदेखि चुनावी प्रक्रिया शुरु भएको छ । निर्वाचन कमिटीले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया शुरु भएको जनाएको हो । चुनावी प्रक्रिया शुरु भएपछि पार्टीका शीर्ष नेताहरुले सहमतिका लागि थप समय चाहियो भनेर माग भएपछि थप समय दिइएको निर्वाचन समितिले जनाएको छ ।

सहमतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि गण्डकी ईञ्चार्ज गोकर्ण विष्ट सम्मले दवाब दिएका छन् । प्यानल नै बनाएर चुनाव लड्दा विभाजनको रेखा कोरिने भएकाले सहमतिलाई जोड दिइएको पार्टीका सचिव तथा गण्डकी ईञ्चार्ज विष्टले बताए ।

एमाले गण्डकीमा नया नेतृत्व सहमतिमा चुनिने सम्भावना न्यून छ । गण्डकीमा खास गरेर उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पिएस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (केआर)को दुई समूहबीच टकराव छ ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री द्वय गुरुङ र अधिकारीबीच को बलियो भन्ने जुंगाको लडाईं भएकालेपनि नया नेतृत्वका लागि चुनाव हुने निश्चितजस्तै छ । गण्डकीमा रहेको उपमहासचिव पिएसलाई एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने पूर्व संगठन विभाग प्रमुख केआरलाई एमाले महासचिव शंकर पोखरेलको साथ छ ।

एमाले गण्डकीको नेतृत्वका लागि दुबै समूहले चुनाव लड्नका लागि टिम तयार गरेका छन् । नेतृत्वले प्यानल बनाएर चुनाव लड्न निशेध गरेपनि पिएस र केआर समूहले प्यानल लिष्ट नै तयार गरेर चुनाव लड्ने तयारी गरेका छन् । पिएस समूहले नवराज शर्मालाई अध्यक्षका रुपमा अगाडि बढाएको छ भने सचिवमा धनञ्जय दवाडीलाई अगाडि सारेको छ । शर्मा वर्तमान तदर्थ समितिका अध्यक्ष र दवाडी सचिव हुन् । केआर समूहले भने अध्यक्षमा मायानाथ अधिकारी र सचिवमा रश्मि आचार्यलाई अगाडि सारेको छ । मायानाथ र रश्मि दुबै पिएस समूहबाट हालैमात्र केआर समूहमा समाहित भएका हुन् ।

दुबै समूह आफूले अगाडि सारेको व्यक्ति भए सर्वसम्मत नेतृत्व चयन गर्ने, नभए चुनावी प्रतिष्पर्धामा जाने बताउँछन् । दुबै समूह निकट श्रोत भन्छ,‘सर्वसम्मतको नाम जप्ने तर चुनावी तयारी गर्ने काम भइरहेको छ ।’

दुई समूहको लडाईंमा स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पद्मा अर्याल भने मौन बसेका छन् । कसलाई सहयोग गर्ने भन्नेमा उनीहरु द्विविधामा छन् । व्यक्तिगत रुपमा मायानाथलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा भएपनि त्यता लाग्दा केआर गुट भनेर प्रचार हुने भय उनीहरुमा रहेको श्रोत बताउँछ । सचिव अर्यालको भनाई कोट गर्दै एक प्रतिनिधिले भने,‘केआर भन्दा त हामी सिनियर हौं । उहाँको गुट भन्न त कसरी सुहाउँछ र ? ।’

पिएस र केआर दुबै समूहले आफ्नो पक्षले जित्ने दाबी गरेका छन् । पिएस निकट श्रोतका अनुसार कुल ९ सय ७ जना प्रतिनिधिमध्ये ६ सय जना आफ्नो पक्षका रहेको दाबी सो समूहको छ ।

पिएस समूहमा गण्डकीका अधिकांश केन्द्रीय सदस्य ढल्किएको बताईन्छ । केआर समूहपनि निर्वाचन जित्न आवश्यक मत रहेको दाबी गर्छ । खास गरेर गुट अदलबदल भइरहेको र पिएस समूहका प्रभावशाली व्यक्तिहरु नै आफूतिर आएकाले नतिजा आफ्नो पक्षमा आउने केआर समूहको दाबी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।