पोखरा, असोज २०
दशैंमा घर फर्किनेहरुलाई लक्षित गर्दै पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राईभेट लिमिटेडले दशैंका लागि यहि असोज २१ गते आईतबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने जानकारी दिएको हो । नेपाल यातायात राष्ट्रिय महासंघले असोज २२ गतेदेखि मात्रै अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेपनि पृथ्वी राजमार्गले एकदिन अगावै बुकिङ खुलाउने निर्णय गरेको हो ।

यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भाडा बृद्धि नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान लिएको थियो । पोखरा–मुग्लिन सडक खण्ड, नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतीको काम भइरहेकाले सडक जिर्ण भएको, जिर्ण बाटोमा बस चलाउँदा सवारी साधनको पार्टपुर्जा, ईञ्जिन, गियर बक्सहरु खराब भई पटक÷पटक मर्मतसम्भार गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि, पार्टपुर्जामा भएको बृद्धि, मूल्य बृद्धिलगायतको अनुपातमा यातायात भाडा न्यून भएकाले भाडा समायोजन गर्नुपर्ने अडानमा कम्पनी थियो ।
तर दशैं मुखैमा आएपछि यात्रुहरुको आवश्यक्ता, मर्म, भावना र सुविधालाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीद्वारा शनिबार जारी विज्ञप्तीमा जनाइएको छ । कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हाम्रो मुलुकमा अहिले सरकार दृष्टिविहीन, अपाङ्ग र बहिरो जस्तो मूर्तिको आकार लिई उदासिन भएर बसेको अवस्थामा चाडपर्वका बखत यात्रुहरुको आवश्यकता, मर्म, भावना र सुविधालाई मध्यनजर गर्दै गैह्रजिम्मेवार र उदासीन बन्न हाम्रो नैतिकताले नदिने हुँदा घाटा सहेर भएपनि अग्रिम टिकट बुकिङ खोल्ने निर्णयमा पुगेका छौं ।’
कम्पनीले दशैंका लागि अग्रिम टिकट बुकिङ पोखरा–८ फिर्के र कम्पनीका अन्य सेवा प्रदायक कार्यालय अन्तर्गतका काउण्टरहरुबाट उपलब्ध हुने जनाएको छ ।
कम्पनीले दशैंका लागि गाडी थप्ने योजना रहेकोपनि जनाएको छ । तर यात्रुको आवश्यक्ता हेरेर गाडी थपिने अध्यक्ष केसीले जानकारी दिए । यसपाली गाडीको समस्या हुँदैन,उनले भने,‘आवश्यक्ता अनुसार गाडी थप्छौं । गाडी नपाएर यात्रु रोकिने स्थिति आउन दिदैनौं ।’
कम्पनीका गाडीहरु पोखरादेखि काठमाडौं, बुटवल, पूर्वको ईटहरी, धरान, विराटनगर, धनकुटा, झापाको दमक, काकडभिट्टा, ईलामको पशुपतीनगर, भारतको दार्जिलिङ, सिक्किमसम्म जाने गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज…







