‘कृषिलाई माथि उकास्न बिचौलिया लखेटौं’


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०८० मा प्रकाशित




पोखरा, असोज २२

नेपाल कृषि प्रधान देश हो । नेपालका करीब ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर छन् । तर कृषिमा लागेका किसान भने आफूलाई किसान भन्न हिच्किचाउँछन् । उनीहरु आफूलाई कृषक भनेर चिनाउन चाहँदैनन् अर्थात शीर ठाडो पारेर किसान हुँ भन्न सक्दैनन् । कारण हो कृषकप्रति आम मान्छेको धारणा सकारात्मक नहुनु, किसानलाई उचित सम्मान नगर्नु, कृषिबाट भएको आम्दानीले सहजै जीवनयापन नचल्नुलगायत । त्यतिमात्र होईन किसानका नाममा झोले किसानले मच्चाएको आतंक, राज्यले गर्ने विभेदलगायतका कारणपनि आफूहरु किसान भनेर चिनिन नचाहेको पोखरामा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा किसानहरुले बताए ।

कृषि उपज थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक महेन्द्रसिंह थापा अहिले म कृषक हुँ भनेर भन्न सक्ने अवस्था नरहेको बताउँछन् । कृषक हुँ भन्न लाज लाग्छ,उनले भने,‘न कृषकलाई सम्मान छ, न कृषकको परिचय छ । नत कृषकको वर्गिकरण नै छ । त्यसैले कृषकको परिचयपत्र बोकेर हिंड्ने अवस्था अहिले छैन ।’ उनले अहिलेको निर्वाहमुखी कृषिले परिवार पालिने स्थिति नरहेकोसमेत दाबी गरे ।

कृषक कविराज खनाल कृषिलाई माथि उकास्न बिचौलिया लखेट्नुपर्ने बताउँछन् । कृषक बचाउने हो भने पहिले बिचौलिया लखेट्नुपर्छ,उनले भने,‘बिचौलियाका कारण किसान मरेका छन् । उनीहरुले उत्पादनको मूल्य पाएका छैनन् ।’ अहिलेको बजार प्रणाली किसान मर्ने बिचौलिया मोटाउने खालको रहेको उनको टिप्पणी छ ।

सुकिलामुकिलालाई मात्र सम्मान दिने समाज रहेसम्म किसानले निर्धक्का साथ किसान हुँ भन्न सक्ने स्थिति नबन्ने किसानहरुको भनाई छ । सम्मान पाउन सुकिलामुकिला भएर हिंड्नुपर्छ,एक किसानले भने,‘तर हामीलाई त काम गर्दा फुर्सद नै हुँदैन ।’ कर्मको आधारमा सम्मान दिने समाज निर्माणमा लाग्नुपर्ने उनले बताए ।

कृषक बुद्धिसागर पौडेलले किसानलाई योगदानको आधारमा पेन्सनको व्यवस्था गर्न सके किसानप्रति सम्मान भाव जाग्ने बताए । किसानलाई पेन्सन दिऔं,उनले भने,‘त्यसपछि छिमेकी देशलगायतबाट आउने सामानमा प्रतिबन्ध लगाऔं । त्यसो भयो भने किसानले उत्पादनको मूल्य पाउँछ । अनि किसानको आम्दानी बढ्छ र सम्मानपनि बढ्छ ।’

नवलपुर बर्दघाटकी कृषक शान्ति महतोले किसानलाई बैंकलेसमेत लोन नदिएर हेप्ने गरेको बताईन् । किसानलाई सम्मानका साथ लोनसमेत दिईंदैन,उनले भनिन्,‘अनि कसरी उत्पादन हुन्छ ? कृषक कसरी बलियो हुन्छ ? किसानले कहिले सम्मान पाउँछ ? ।’

मौरीपालक कृषक चण्डीप्रसाद लामिछानेले आवश्यक्ता र मागबीच तादात्म्यता नमिल्दा किसान मारमा पर्नेगरेको बताए । अर्का किसान विनोद भुषालले झोले किसानका कारण वास्तविक किसान मारमा परिरहेको बताए । वास्तविक किसानले न लोन, न अनुदान पाउँछ,उनले भने,‘झोले किसानले गर्दा समाजमा किसानप्रति हेर्ने दृष्टिकोण सकारात्मक बनेन ।’

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.सहदेवप्रसाद हुमागाईंले कृषिलाई आत्मनिर्भर बनाउँदै कृषकको आर्थिक अवस्था सुधार्नुपर्ने बताए । दलहन, तेलमा आत्मनिर्भर बन्ने क्रममा रहेको तथा फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासु रेग्मीले युवालाई कृषिमा आकर्षित गर्ने, तालिम दिने, सीप सिकाउने, बिजुली वत्तीको शुल्कमा अनुदान दिने, कोल्डस्टोर खोल्नेलगायतका कार्य गरिने बताए । ‘स्थानिय उत्पादनलाईपनि बढावा दिऔं । स्थानिय उत्पादन किनेर खाने बानीकोपनि विकास गरौं’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।