इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने,शव ल्याउन केही ढिलाइ हुने


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर : नेपाल एयर लाइन्स

काठमाडौ । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ ।

परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमताको विमान इजरायल गएको हो ।

उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ ।

शव ल्याउन केही ढिलाइ हुने

इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ ।

इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने प्रवक्ता लम्सालले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।