कृषिबाट मात्रै देश समृद्ध हुनसक्छ : अध्यक्ष नेपाल


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०८० मा प्रकाशित




असोज २५ कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई उद्यमसँग जोड्न सकेमात्रै देश समृद्ध हुने बताएका छन् ।

पार्टीको मेची–महाकाली जागरण अभियानका क्रममा कैलालीको टीकापुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दैै पूर्वप्रधानमन्त्री नेपालले कृषि क्षेत्रलाई उद्यमसँग जोडेर देशलाई समृद्ध बनाउन सकिने बताएका हुन् । “हाम्रो प्रमुख समस्या रोजगारी बनेको छ । रोजगारीकै कारण दैनिक हजारौँ दक्ष जनशक्ति देश बाहिर पलायन भइरहेको छ”, उनले भने, “त्यसलाई रोक्नका लागि सरकार गम्भीर बनोस् । कृषि क्षेत्रको विकासमा आगामी यात्रा तय गर्नुको विकल्प छैन ।”

राज्यको सम्पत्तिको दोहन गर्दै राज्यका निकायलाई प्रभावमा पारेर सुनौला अवसरलाई कार्यान्वयन गर्न नदिने तत्वका कारण देश खतरामा परेको अध्यक्ष नेपालको भनाइ थियो । उनले राजनीतिक वितृष्णा र युवामा देखिएको निराशाले देशको भविष्यलाई अन्योलमा पार्न सक्ने भन्दै त्यसलाई निरुत्साहित गर्नकै लागि पार्टीको जागरण अभियान सुरु भएको बताए ।

वर्तमान व्यवस्थालाई मास्नका लागि केही विरोधी शक्ति सलबलाउन थालेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसको रक्षाका लागि सबैले एक ठाउँमा उभिनुको विकल्प नभएको बताए ।

पार्टीका महासचिव घनश्याम भुसालले संविधानको पूर्ण कार्यान्वयन नै समृद्धिको प्रमुख आधार हुने बताए । बेरोजगारीका कारण देश खाली हुने अवस्थामा पुगेको उनको भनाइ थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।