पोखराको प्याराग्लाईडिङ उडान तोरीपानीमै फर्कियो

- प्याराग्लाईडिङ पुरानै लयमा फर्किने आशा


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित




पोखरा, असोज २८

प्याराग्लाईडिङको उडान पुनः पोखराको तोरीपानीबाट गर्न शुरु गरिएको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै तोरीपानीबाट बन्द गरिएको प्याराग्लाईडिङ उडान ९ महिनापछि पुनः पोखरा–१८ तोरीपानीमै फर्किएको हो ।

विमानस्थल सञ्चालनमा असर गर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा–१८ स्थित सराङकोट र तोरीपानीबाट प्याराग्लाईडिङ उडान बन्द गरेको थियो । प्राधिकरणको सो निर्णयसँगै प्याराग्लाईडिङ पोखराबाट विस्थापन हुने भन्दै चिन्ता व्यक्त गरिएको थियो । पोखराबाटै प्याराग्लाईडिङ बिस्थापित हुने चिन्ता र चासो सर्वत्र भएपछि क्यानले त्यसको विकल्पको खोजी गरेर मान्द्रेढुंगाबाट प्याराग्लाईडिङ उडान गर्न अनुमति दिएको थियो ।

तर मान्द्रेढुंगाबाट उडान भएपनि प्याराग्लाईडिङमा पहिलेजस्तो आकर्षण भएन । भौगोलिक विकटता, जिर्ण सडक, लामो दुरी, खराब मौषम र तुलनात्मक रुपमा प्राकृतिक सुन्दरताको कमीका कारण मान्द्रेढुंगाबाट प्याराग्लाईडिङ गर्नेको चाप घट्दा व्यवसायी निराश थिए । जसको फलस्वरुप पोखराबाट कतै प्याराग्लाईडिङ बिस्थापित हुने त होईन भन्ने चिन्तापनि बढ्दै गएको थियो ।

तर क्यानले पोखराबाट प्याराग्लाईडिङ बिस्थापन होईन, व्यवस्थापन गरेर स्थापित गर्नुपर्ने भन्दै यसको अध्ययन शुरु गरेको थियो । अध्ययनका क्रममा तोरीपानीबाट प्याराग्लाईडिङ उडान गर्दा विमानस्थल सुरक्षामा कुनै असर नगर्ने देखिएपछि पुनः तोरीपानीबाट उडान भर्न दिने निर्णय गरेको थियो । सो निर्णयको एआईपी प्रकाशित गरेसँगै आईतबारबाट तोरीपानीबाटै उडान भर्न शुरु गरिएको नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए । मान्द्रेढुंगा भन्दा तोरीपानी भौगोलिक हिसाबले सुगम, दुरीका हिसाबले नजिक, प्राकृतिक हिसाबले सुन्दर, बाटो सहजपनि भएकाले पर्यटक पुनः आकर्षित हुने अध्यक्ष भट्टराईको विश्वास छ । त्यतिमात्र होईन मान्द्रेढुंगाको भन्दा तोरीपानीको मौषम प्राय सफा हुन्छ,उनले भने,‘पोखराको अधिकांश ठाउँबाट प्याराग्लाईडिङ गरेको देखिने भएकालेपनि पर्यटकले अरुले गरेको देखेर प्याराग्लाईडिङ गर्न आउने संख्या बढ्छ ।’ यद्वपी मान्द्रेढुंगाबाटपनि उडान निरन्तर गरिने उनले बताए । ‘खास गरेर सोलो उडान मान्द्रेढुंगाबाट गर्छौं’–उनले भने । अध्यक्ष भट्टराईले निकट भविष्यमा सराङकोटबाटै उडान गर्ने आफूहरुको ईच्छा र चाहना रहेको बताए । तर यो टेक्निकल विषय भएकाले क्यानको निर्णयमा यो कुरा निर्भर रहने उनले प्रष्ट्याए ।

‘ना’का सल्लाहकार शैलेन्द्र राउतले तोरीपानीमा उडान फर्किएसँगै अब प्याराग्लाईडिङ पुरानै अवस्थामा फर्किनेमा आफूहरु आशावादी रहेको बताए । ‘अब प्याराग्लाईडिङ पुरानै अवस्थामा फर्किन्छ । अझ सराङकोटबाटै उडान गर्न पाउनु प¥यो भनेर हामीले क्यानलाई भनिरहेका छौं । आशा छ त्यहाँबाटपनि उडान गर्ने अनुमति पाउँछौं ।’ उनले ताल, हिमश्रृंखलाको रस्वादनसँगै फोटोजेनिकपनि भएकाले तोरीपानी पर्यटकको रोजाईमा पर्नेगरेको उल्लेख गरे ।

‘ना’ का प्राविधिक उपाध्यक्ष बिजय गौतमले तुलनात्मक रुपमा मान्द्रेढुंगा भन्दा तोरीपानी कयौं गुणा उपयुक्त भएको बताए । यसले प्याराग्लाईडिङ गर्नेको संख्या बढ्ने भन्दै उनले भने,‘पाईलट र व्यवसायी हामी सबै खुशी छौं ।’

प्याराग्लाईडिङ व्यवसायी तथा पाइलट शर्मिला शर्माले मान्द्रेढुंगा अपायक र टाढापनि भएकाले पर्यटकको रोजाईमा नपरेको बताए । तर तोरीपानीबाट उडान पुनः शुरु भएसँगै आफूहरु उत्साहित भएको उनले बताईन् । ‘तोरीपानी सुरक्षित र रमाईलो ठाउँ हो । अब प्याराग्लाईडिङ पुरानै लयमा फर्किनेमा आशावादी छौं’–उनले भनिन् ।

अर्की पाइलट सविता तामाङले प्याराग्लाईडिङको उडान तोरीपानीमा फर्किएसँगै आफूहरु बिस्थापित हुने डरबाट मुक्त भएको बताईन् । मान्द्रेढुंगा सरेसँगै प्याराग्लाईडिङ गर्ने पर्यटक कम हुँदा आफूहरुमा बिस्थापित हुने चिन्ता थियो,उनले भनिन्,‘महङ्गो अध्ययन, महङ्गो रकमको ग्लाईडर किनेर उडान गर्ने पालो नआउँदा वैकल्पिक रोजगारीको सोंचपनि नआएको होईन । तर अबचाहिं प्याराग्लाईडिङ गर्ने पर्यटक बढ्ने आशा छ । यसले थोरै भएपनि बिस्थापित हुने चिन्ता हटेको छ ।’

‘ना’ले पुनः तोरीपानीबाट उडान शुरु गरेसँगै सराङकोटबाट उडान र फेवाताल किनार खपौंदीमा अवतरण (ल्याण्डिङ) गर्न दिनका लागि आग्रह गरेको छ । यसको अध्ययन भईरहेको ‘ना’ का महासचिव खेमराज आचार्यले जानकारी दिए । ताल किनारमा ल्याण्डिङ गर्दा सुरक्षित हुने भएकाले त्यसको पहल गरेका हौं,उनले भने,‘हाम्रो अध्ययनले मिल्ने देखिएको छ । हामीले प्रतिवेदन क्यानमा बुझाएका छौं । सायद क्यानले अध्ययन गरिरहेको होला । आशा छ सकारात्मक निर्णय आउँछ ।’

यसअघि ‘ना’का अध्यक्ष सुनिलबहादुर भट्टराईले रिबन काटेर तोरीपानीबाट पुनः उडानको उद्घाटन गरेका थिए । सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१८ का वडाध्यक्ष पूर्णाखर तिमिल्सिना, स्थानिय व्यवसायी प्रेमप्रसाद तिमिल्सिनालगायतले अविर र माला लगाएर उडान सफलताको शुभकामना व्यक्त गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।