एसिसी प्रिमियर कप क्रिकेट:नेपाल सेमिफाइनलमा प्रवेश


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०८० मा प्रकाशित




गुगल फोटो

काठमाडौँ । एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले सेमिफाइनलमा समूह ‘डि’को विजेतासँग खेल्नेछ । नेपलाले पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो ।

साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए । मोहम्मद अहमद ९ रनमा अविजित रहे भने अब्दूल्लाह शिराजले ९ रन बनाए । साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेल एक्लैले ६ विकेट लिए भने आकाश चन्दले २ तथा शुवास भण्डारीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेलेका थिए । उनले १४२ रन बनाएका थिए । आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने दीपक बोहोराले २९ रन बनाए ।

त्यस्तै, दीपकप्रकाश डुम्रे १४ रनमा आउट हुँदा मिलन बोहरा ९ र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुईरदुई, विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एकरएक विकेट लिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।