कार्तिक ३ झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताएका छन् ।
बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उहाँले दसैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताए ।
अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाजमा दसैंले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गरे । उनले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरे ।
एमाले अध्यक्ष ओलीले जमरा र अक्षता लगाउने चलनले दसैँलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै पारिवारिक र सामाजिकरूपमा टाढिएको सम्बन्धलाई पनि दसैँको टीका र आर्शिवाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताए ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुक आर्थिक दृष्टिले सङ्कटमा आइपुगेको चर्चा गर्दै यसको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने जिकीर गरे । उनले महँगी आकासिएर गरिबको चुलो नबल्ने अवस्था आए पनि सरकारले चाडपर्वका बेला बजारलाई व्यवस्थित गर्न नसकेको आरोप लगाए ।
नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं पूर्वमन्त्री धर्मशिला चापागाईंले मुलुकमा जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकार खोस्न चाहने शक्ति सलबलाइरहेको हुँदा परिवर्तनका पक्षधरहरू सचेत रहनुपर्ने बताए । उनले परिवर्तन पक्षधर दलहरू आपसमा मिलेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्दै प्रतिगामी चुनौतीलाई परास्त गर्न जनान्दोलनमा सहभागी भएका राजनीतिक शक्तिबीच सहकार्य बलियो हुनुपर्ने धारणा व्यक्त गरे ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले सबै राजनीतिक दलका नेतालाई आमन्त्रित गरेर दसैँमा शुभकामना आदानप्रदान गर्ने चलनले राजनीतिक शक्तिहरूबीच सम्बन्ध सौहार्दपूर्ण बनाउन मद्दत पुगेको बताए ।
विसं २०५१ मा नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन भएपछि हरेक वर्षको दसैँको नवमीका बेला अध्यक्ष ओलीले गृह जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







