कार्तिक १६ काठमाण्डौं । नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
यस्तै, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष ९एचईपिआरटीएफ०बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । द्विपक्षीय वित्तीय सम्झौता आज विद्युतीय रुपमा आदानप्रदान गरिएको छ । ती सम्झौतामा यही कात्तिक १० गते विद्युतीय हस्ताक्षर गरिएको थियो । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो ।
नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन सम्झौतामा अर्थ सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो कार्यक्रम सङ्घीय तहको स्वास्थ्य बीमा बोर्ड, र कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन गर्नेछ ।
कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनोट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपत्कालीन पूर्वतयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण गर्ने कार्यमा जोड दिन्छ । “गुणस्तरीय स्वास्थ्य सेवा मानव पुँजी विकासको आधारशीला हो । नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनद्वारा तय गरिएको वृहत सुधारका एजेण्डा उच्च गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न निर्णायक हुनेछन” अर्थ सचिव पुष्करले भने ।
नेपालमा सङ्कटासन्न जनतालाई संरक्षण गर्ने, र उन्नत उत्पादकत्व र दिगो आर्थिक वृद्धिको मेरुदण्डका रुपमा रहेको मानव पुँजीको सुदृढीकरणका लागि योगदान गर्ने उत्थानशील र समावेशी जनस्वास्थ्य प्रणाली निर्माण गर्न हामी सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जेर्भोसले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







