
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमापुगेका छन । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान साढे आठ बजे स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित त्यहाँ पुगेका हुन ।
जाजरकोट पुग्नुभएका प्रधानमन्त्री दाहालले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पको क्षतिको जानकारी लिएका छन । सुरुमा जाजरकोटको खलङ्गाको प्रभावित क्षेत्रको वस्तुस्थिति बुझिसकेपछि प्रधानमन्त्री दाहाल प्रजिअ सुनारसहित सबैभन्दा बढी क्षति भएको नलगाड नगरपालिकामा पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारलाई तीव्र बनाउन तथा यसका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन । क्षतिको पूर्ण विवरण नआइसकेकोले प्रारम्भिक क्षतिको विवरणबारे प्रजिअले प्रधानमन्त्री दाहाललाई जानकारी गराएको सूचना अधिकारी शर्माले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गरेका छन । उनका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वगृहमन्त्री जनार्दन शर्मासहित थ्यहाँ पुगेका छन । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।