जन्म देश वेलायत छाडेर पोखरा बसेका पुतली बाजे अस्ताए


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८० मा प्रकाशित




पोखरा, १८ कात्तिक

जन्म देश छाडेर नेपालको पोखरामा बस्दै आएका सामाजिक व्यक्तित्व पुतली बाजे अर्थात कोलिन स्मिथ अस्ताएका छन् । पुतलीको संग्रहमा जीवन अर्पेका ८८ वर्षिय पुतली बाजेले गएराती धर्ती छाडेका हुन् ।

स्वास्थ्य अवस्था कमजोर बनेपछि विगत २ महिनादेखि पुतली बाजे हरियो खर्क अस्पताल पोखरामा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार विहान ३ बजे निधन भएको जनाइएको हो ।

आफ्नो मामाबाट प्रभावित भएर पुतली बाजे पुतली संकलनमा लागेका थिए । पुतली संकलनमै रमाउँदै नेपाल बसेका उनले आफ्नो जन्म देश वेलायत त्यागेका थिए । वेलायत त्यागेर जीवनभर नेपाल बसेपनि उनले चाहेजस्तो नेपालको नागरिक भने हुन पाएनन् । उनलाई नेपाल सरकारले २०१९ मा मानार्थ नागरिकता प्रदान भने गरेको थियो ।

२९ वर्षमै नेपाल आएका उनी पुतलीको अध्ययनसहित पोखरा, गोरखा र काठमाडौँमा बसेर शिक्षण पेशा अप्नाए । पुतली बाजेले नेपालका विभिन्न ठाउँका पुतली संकलन गरेर पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालयको स्थापना नै गरेका छन् । उनले करीब पाँच सय प्रजातिका पुतली सङ्कलन गरी गरेका छन् ।

यस्तो छ उनको योगदान

बेलायतका कोलिन स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ नामबाट चिनिन्छन् । नेपालमा अध्यापन र पुतली संकलकका रुपमा ५७ वर्ष बिताएपछि पुतली बाजेले ३ वर्ष अगाडी नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए ।

उनी पोखरा महानगरपालिका वडा १८ स्थित लामागाउँमा बस्दै आएका थिए । विक्रम संवत २०२२ सालमा २९ वर्षको उमेरमा उनी युनाइटेड मिसनको शिक्षक भएर पहिलो पटक नेपाल आएका थिए ।

पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिंग स्कूलमा २ बर्ष बिज्ञान र गणित बिषय पढाएर उनि गोर्खाको स्कुलमा पढाउन गएका थिए । त्यहाँ उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र (दिवंगत) डा उपेन्द्र देवकोटालाई बिज्ञान र गणित पढाएका थिए ।

गोरखामा २ बर्ष पढाएर उनि फेरी पोखरा फर्के र केहि बर्ष पृथ्बी नाराएण क्याम्पसमा फिजिक्स बिषय अध्यापन गरे । सानै देखि पुतली प्रति रुचि भएका पुतली बाजेले बेलायतमै रहंदा १ बर्ष पुतली संग्रालयमा काम गरेका थिए । नेपाल आए देखी नै पुतलीको खोज र संकलनमा लागेका उनले पढाउने काम छोडेर नेपालमा पाइने पुतली को अनुषन्धान र खोजमा लागे ।

५० भन्दा बढी जिल्ला पुगेका उनले नेपालमा ६ सय ५० जातिका पुतली पाइने कुरा पत्ता लगाए जस मध्य ५ सय ५० जातिका पुतली संकलन गरिसकेका छन् । उनले त्रिभुबन विश्वविद्यालयको केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विश्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् ।

पर्यावरणमा स–साना जीवको ठूलो महत्व हुने भएकाले पुतली अध्ययन र संकलन अभियान थालेका उनले पुतलीसम्बन्धी १० वटा किताब लेखिसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।