प्रधानमन्त्री राहत कोषमा कांग्रेसको रु ५० लाख सहयोग


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८० मा प्रकाशित




नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ ।

कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई सङ्घीय सरकारको अनुगमन र सहजिकरणका लागि सुझाव समेत दिएको छ ।

सो अवसरमा कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचारविभाग प्रमुख मीनबहादुर विश्वकर्मालगायत थीए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताए।

उनले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँनुहुँदै अब राहत र पुनःनिर्माणको दोस्रो चरणको काम द्रुतगति हुने बताउए।

उनले भने, “हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उनीहरुले राहतका लागि आफूहरु सुरुवात गरेको बताए ।

यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।” प्रधानमन्त्रीले आगामी दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कामबारे छलफल भएको बताए ।

उनले नेपालीहरुमा संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपतमा झैं यसपटक पनि सबै एकजुट भएको बताए। आजै नेकपा (एकीकृत समाजवादी)ले पनि रु २५ लाख सहयोग गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतासहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी रु २५ लाख बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।