पोखराको सभागृहचोकमा रहेको एटिएम फोड्ने मानिस पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०८० मा प्रकाशित




पोखरा, कात्तिक २२

पोखरामा एटिएम फोडेको आरोपमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–८ सभागृहचोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय नागरिक बबी ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ठाकुर भारत बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पंचायत ग्राम ढांका बजार स्थायी घर भई हाल पोखरा–९ नयाबजारमा बबी ठाकुर सैलुनका सञ्चालक भएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

डिएसपी श्रेष्ठको कमाण्डमा खटेको गस्ती टोलीले ठाकुरलाई एटिएमको ढोकाको लक फोडेर भित्र पसी एटिएम मेसिन नै फोड्दै गरेको अवस्थामा ठाकुरलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पैसा चोरी गर्ने उद्देश्यले एटिएम मेसिन फोडिरहेको अवस्थामा ठाकुरलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । ‘फलामको रडले एटिएम मेसिन फोडिरहेको थाहा पाएर हेर्न जाँदा प्रहरीलाई देखेर भाग्न खोज्दै गर्दा पक्राउ गरेका हौं’–डिएसपी श्रेष्ठले भने ।

पक्राउ परेका ठाकुरको साथबाट एटिएम मेशिन फोर्न प्रयोग गरेको फलामको रड १ थान, पेचकस १ थान, कपाल काट्ने कैची भाँचिएको अवस्थाको १ थान र ढुंगा १ थान बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । ठाकुरलाई चोरी उद्योग मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गर्ने गरी अनुसन्धान भइरहेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।