अदालतको आदेश : पोखराको लेकसाईड चौविसै घण्टा खोल्न दिनू


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०८० मा प्रकाशित




पोखरा, कात्तिक २२

उच्च अदालत पोखराले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाईड चौविसै घण्टा खोल्न दिन आदेश दिएको छ । उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको बुधबार बसेको एकल इजालासले लेकसाईडमा भएका व्यापार व्यवसाय चौविसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो ।

व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदन उपरमा भएको बहसपछि भट्टराईले यस्तो आदेश दिएका हुन् ।

यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता त्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले पक्षमा बहस गरेका थिए । आदेशमा भनिएको छ,‘निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनू ।’

निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले बाटोका म्यादबाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत्, लिखित जवाफ पेस गर्न विपक्षीहरुका नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपी समेत साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परेपछि वा सो को अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्न अदालतले आदेश दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।