पृथ्वीचोक पुलको दाया र बाया दुबैतर्फ २\२ लेनको दुई वटा पुल बनाईंदै


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०८० मा प्रकाशित




पोखरा, कात्तिक २५

पोखराको पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माण शुरु भएको छ । पुरानो पोखरा अर्थात कोर पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माणको काम शुरु भएको हो । पोखरा–९ र १० जोड्ने सो पुलको शनिबार नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरे ।

पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण १ योजना अन्तर्गत सडकसँगै पुल निर्माण गरिन लागेको हो । पृथ्वीचोकस्थित सेती नदीमा हाल रहेको पुलको तल्लो र माथिल्लो अर्थात दायाँ र बायाँ दुबैतर्फ एक÷एक वटा गरेर दुई वटा पुल निर्माण गरिने छ । एसियाली विकास बैंकको सहयोगमा १ अर्ब १५ करोडको लागतमा बन्ने यो पुल एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माण गर्नेछ । नेपालकै नमूना पुलका रुपमा रहने यो पुल एक्ष्ट्रा डोज प्रकारको हुनेछ भने पुलको डिप फाउण्डेसन हुनेछ । पुल २०८२ साल भदौ २५ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भई निर्माण शुरु गरिएको निर्माण कम्पनी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका कन्ट्रयाक्ट म्यानेजर सुदर्शन देवकोटाले जानकारी दिए ।

पुलको शिलान्यास गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पुल समयमै बनाउन निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माणमा ढिलाई, गुणस्तरमा समस्या, पेमेन्टमा ढिलाईलगायतका समस्या देखिने गरेका छन्,उनले भने,‘तर कम्तिमा सेती नदी पुल निर्माणमा त्यस्तो नहोस् ।’ पुल निर्माणका लागि आवश्यक सबै सहयोग सरकारको तर्फबाट हुने भन्दै तर गुणस्तर कायम गर्न र समयमै सक्नेबारेमा निर्माण कम्पनीलाई ध्यान दिन उनको आग्रह थियो ।

कास्की क्षेत्र नम्बर–२ की प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले निर्माणका क्रममा आउने बाधा अवरोध फुकाउन सबै एकजुट हुनुपर्ने बताईन् । उनले भनिन्,‘निर्माणका क्रममा अवरोध आउनसक्छन् । त्यसैले जनता र राज्यबीच देखिने अवरोध हटाउन राज्यका निकाय, जनप्रतिनिधि र स्थानियबीच सहकार्य गरौं ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणमा स्थानियको तर्फबाट बाधा, अवरोध आउन नदिने प्रतिबद्धता व्यक्त गरे । पुल निर्माणमा हामी सघाउँछौं,उनले भने,‘घण्टा, मिनेट र सेकेण्डपनि अवरोध हुन दिदैनौं ।’

एसियाली विकास बैंक (एडिबी)का नेपाल प्रतिनिधि आर्नव ह्याकमेनले नेपालको विकास र समृद्धिका लागि एडिबीले नेपालमा १ अर्ब डलर बराबरको भौतिक पूर्वाधारका काम गरिरहेको बताए । हामीले नेपालको विकासमा धेरै नै सहयोग गरिरहेका छौं,उनले भने,‘तर यो पर्याप्त छैन । यहाँको आर्थिक अवस्थाका कारण पूर्वाधार निर्माणमा हामीले अझै थप्नुपर्छ ।’ विकास र समृद्धिको आधार भनेको सडक र पुल नै भएकाले त्यसका लागि भौतिक पूर्वाधार थप्नुपर्ने उनको भनाई थियो ।

पुल निर्माण कम्पनी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका कन्ट्रयाक्ट म्यानेजर सुदर्शन देवकोटाले समयमै पुल निर्माणको काम सक्नका लागि सरकार र स्थानिय दुबैको सहयोग आवश्यक पर्ने बताए । ‘निर्माण स्थलमा नर्सरी र घर भएकाले यो चाँडो हटाईदिनुपर्छ’–उनले भने ।

पुल निर्माण भएमा हाल हुँदै आएको ट्राफिक जाम हटाउन कोशेढुंगा सावित हुनेछ । किनकी नेपालका अधिकांश ठाउँबाट पोखरा भित्रिने र बाहिरिने सवारी साधन यहि पुलबाट आवतजावत हुने भएकाले यहाँ अत्यधिक ट्राफिक जाम हुने गरेको छ । नजिकै पोखरा रंगशालापनि भएकाले खेल सञ्चालनको बेलामा त झन् ट्राफिक जामले समस्या हुने गरेको छ । पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएमा यी यावत समस्या समाधान हुने अपेक्षा गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।