कास्की कांग्रेसमा किचलो

- सभापतिले हटाए पराजुलीलाई, सभापतिले पार्टी विधि विधानमा नचलाएको पराजुलीको आरोप


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०८० मा प्रकाशित




पोखरा, मंसिर १३

नेपाली कांग्रेस कास्कीमा किचलो उत्पन्न भएको छ । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले पार्टीका जिल्ला सदस्य गंगाधर पराजुलीलाई पदमुक्त गरेसँगै कास्की कांग्रेसमा किचलो उत्पन्न भएको हो । बराल र पराजुली दुबै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट हुन् । दुईबीच मिल्ती भएकैले सभापतिले विश्वास पात्रलाई मनोनित गर्ने सदस्य पदमा पराजुलीलाई मनोनित गरेका थिए । तर मनोनित गरेको केहि समयदेखि नै उहाँहरुबीच मनमुटाव शुरु भई अहिले एकअर्काबीच आरोपप्रत्यारोपसम्म पुगेका छन् ।

जिल्ला सभापतिमा निर्वाचित भएलगत्तै बरालले पराजुलीलाई सदस्यमा मनोनित गरेका थिए । तर मंसिर १० गते एक पत्र लेखेर सभापति बरालले पराजुलीलाई पदमुक्त गरेको जानकारी गराएका छन् । पराजुली चार महिनादेखि अमेरिकामा छन् । उनी बुधबार बेलुकी नेपाल आईपुग्दै छन् । नेपाल नआईपुग्दै उनलाई बरालले भाईबरमार्फत पदमुक्त भएको पत्र पठाएर जानकारी गराएका छन् ।

पदमुक्त भएको पत्र आफूले प्राप्त गरेको पराजुलीले बताए । तर पदमुक्त गरेकोप्रति आफ्नो कुनै गुनासोपनि नभएको र दुःखपनि नलागेको प्रतिक्रिया दिए । सभापतिलाई कार्यशैली सुधार्नका लागि बारम्बार आग्रह र दवाब दिएँ,उनले भने,‘तर उहाँ सुध्रिनु भएन, सुधार्न नसकेपछि मैले नै सभापतिलाई मलाई हटाउन आग्रह गरेको थिएँ ।’

पराजुलीले सभापति बरालले सामाजिक सञ्जालमा एउटा कुरा लेख्ने तर व्यवहार र कार्यशैलीमा लागु नगर्ने गरेको आरोप लगाए । सभापति बरालले लामो समयदेखि बैठक राख्न नसकेको, महिला संघलाई विवाद र विभाजनतर्फ लगेको, नेपाल विद्यार्थी संघ कास्की जिल्लाको विवाद मिलाउन चासो नदिएको तथा पार्टी संगठन सुदृढ गर्नुभन्दा व्यक्तिगत ईच्छा र चाहना अनुसार पार्टी चलाउन खोजेपछि आफूले ५÷७ महिना अगाडि देखि नै विरोध गर्दै आएको पराजुलीको भनाई छ ।

पराजुलीले सभापति बरालले नियमित बैठकपनि राख्न नसकेको र राखेको बैठकमा कोरमसमेत पु¥याउन नसकेको भन्दै यसमा सभापति नै दोषी भएको आरोपपनि लगाएका छन् ।

तर सभापति बरालले भने मनोनित भएका पराजुलीले पार्टीलाई सहयोग नगरेका कारण पदमुक्त गर्नुपरेको बताए । उहाँलाई सहयोगको अपेक्षासहित मनोनित गरेको थिएँ,उनले भने,‘तर उहाँबाट अपेक्षित सहयोग भएन । उहाँ देश बाहिरपनि हुनुभयो । घरमापनि नभएकाले बढी योगदान गर्नसक्ने व्यक्तिलाई मनोनित गर्नेगरी उहाँलाई पदमुक्त गरेको हुँ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।