माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०८० मा प्रकाशित




सांकेतिक तस्विर

मंसिर १५ काठमाण्डौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार यही मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ ।

दल दर्तापश्चात आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आगामी माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

स्वीकृत कार्यतालिका अनुसार २०८० पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । सरकारले यही मङ्सिर १३ गते निर्वाचनको मिति घोषणा गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।