राजतन्त्र फर्काउँदैमा सुशासन आउँदैन, अर्थतन्त्रपनि सबल बन्दैन : माधव नेपाल


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०८० मा प्रकाशित




पोखरा, मंसिर २३

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्ड हेर्दाहेर्दैको नाङ्गो डकैती भएको टिप्पणी गरेका छन् । समाजवादी प्रेस संगठन नेपाल, कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले एनसेल बिक्री सिधै हेर्दाहेर्दैको डकैती भएको बताएका हुन् । एनसेल बिक्री काण्डमा सामेल कोहिपनि छुट्न नहुने भन्दै उनले भने,‘यो लुट, ब्रह्मलुट, सिधै हेर्दाहेर्दैको नाङ्गो डकैती हो । यसमा संलग्न कोहिपनि नछुटोस् ।’

अध्यक्ष नेपालले एनसेलको स्वामित्व अहिले बेच्ने अनि ६ वर्षपछि हस्तान्तरण गर्ने भन्ने सम्झौता नै जालसाजीपूर्ण भएको टिप्पणी गरे । अहिले बेचेर ६ वर्षपछि नेपालीको हातमा आइसकेकाले पुरानो कानून लागु हुँदैन भन्ने देखाउने षडयन्त्रमूलक काम गरेको उनको आरोप छ । उनले एनसेल बिक्रीलाई बैधानिकता दिन सो अनुकुल कानून बनाउन, भएका प्रावधानमा संसोधन गर्न भनेर मस्यौदासमेत निर्माण भएको जानकारीमा आएको दाबी गरे । यी सबै कुराहरुको छानविन गर्नुपर्ने भन्दै उनले भने,‘यसमा अहिले होस् वा पहिलेपहिलेपनि, कसैले आँखा चिम्लेको छ भने त्यसको छानविन गरेर कुनैपनि हालतमा दण्डित गर्नुपर्छ ।’ एनसेलमा बदमासी गर्नेहरुलाई सजाय दिएर सरकारले देशको हितको रक्षा गर्नुपर्ने उनको भनाई छ ।

अध्यक्ष नेपालले एनसेल काण्डमा संलग्नलाई कारवाही गर्दा विदेशी लगानी निरुत्साहित नहुने बताए । उनले भने,‘विदेशी लगानीलाई निरुत्साहित गर्ने होईन । प्रोत्साहित नै गर्नुपर्छ, तर दोषीलाई भने छाड्न हुँदैन ।

अध्यक्ष नेपालले युवाहरुमा बढेको निराशा तथा पार्टी र नेताप्रति बनेको नकारात्मक धारणाको फाईदा उठाउने प्रयास गरिरहेको आरोप लगाए । ‘युवाहरुमा बढेको फ्रष्टेसन, निराशालाई देखाएर, पार्टी र नेताहरुप्रति बनेको नकारात्मक धारणालाई देखाएर प्रतिगामी तत्वहरुले टाउको उठाउन थालेका छन् । ईतिहासको कालखण्डमा हराईसकेका शक्तिहरुले टाउको उठाउन खोजिरहेका छन् । राजतन्त्र फर्काउन खोजीरहेका छन् । यो कदापी स्वीकार्य हुँदैन । सफल हुँदैन ।’–उनले भने । राजतन्त्र फर्काउँदैमा सुशासनपनि नहुने र अर्थतन्त्रपनि सबल नबन्ने उनले दाबी गरे । समस्या राष्ट्रपतीमा रहेको छ कि प्रधानमन्त्रीमा छ ? उनले प्रश्न गर्दै भने,‘प्रधानमन्त्री बन्ने चाहना छ भने पार्टी बनाउने, चुनावमा भाग लिने, जितेर प्रधानमन्त्री बन्ने । राष्ट्रपतिमा आँखा किन गाड्नुप¥यो । जनताको छोराछोरी राष्ट्रपति बनिरहेका छन् । यसप्रति किन आँखा गाड्नुप¥यो ? कि राजतन्त्र कालमा लिएको १५ प्रकारको नातेदारलाई दिने तलब, भत्ताले पिरोलेको हो ? ।’

अध्यक्ष नेपालले अर्थतन्त्रमा कहिं न कहिं त्रुटी रहेकाले अर्थतन्त्र पुरानो लयमा नफर्किएको बताए । यस कारणले उद्योगी, व्यवसायीको हालत खराब भएको बताउँदै उनले भने,‘यसको समाधानका लागि व्याजदर घटाउने, ऋण तिर्ने म्याद थप्ने, व्याजलाई ऋणमा बदल्नेलगायत गरेर राहत दिनेबारे सरकारले सोंच्नुपर्ने बताए । तर संकटमा परेको अर्थतन्त्रलाई मौकाको रुपमा प्रयोग गरेर अनुचित माग गर्नेहरुलाई दण्डित गर्नुपर्ने उनको भनाई छ । दुर्गा प्रसाईंको नाम नलिई उनले भने,‘ऋण लिने तर ऋण नतिर्ने । चुक्ता गर्दिन भनेर घोषणा गर्ने अनि ऋण तिर्दिन भन्नेले दण्ड भोग्नु नपर्ने । यस्ता वाहियात कुराहरु सुन्नमा आइरहेको छ, यो कदापी हुन सक्दैन । उनीहरुलाई दण्डित गर्नुपर्छ ।’

अध्यक्ष नेपालले वर्तमान गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरे । सानातिना समस्याले गठबन्धन सरकार नढल्ने बताउँदै उनले भने,‘यो गठबन्धन पाँचै वर्ष टिक्छ । कसैले हल्लाउन सक्दैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।