मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्रीले आलटाल गर्नु भएको छ : माधव नेपाल


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०८० मा प्रकाशित




पोखरा, मंसिर २३

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले राजिव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको मन्त्री बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आलटाल गरेको आरोप लगाएका छन् । गठबन्धन दलहरुबीच आफ्नो पार्टी नेकपा एसलाई प्रदेश सदस्य जितेको सबै प्रदेशको मन्त्री परिषदमा सहभागिता गराउने सहमति भएपनि गण्डकीका मुख्यमन्त्री पाण्डेले पालना नगरेको आरोप लगाएका हुन् । मनाङेलाई मन्त्री बनाउन आफूले मुख्यमन्त्री पाण्डेलाई भनिसकेपनि नटेरेको भन्दै उनले भने,‘एकपटक अस्ती मन्त्री बनाउन आलटाल नगर्नूसु भनिसकेँ । आज फेरी फोन गरेर मन्त्री मण्डलमा सहभागि गराउन ढिलाई नगर्नूस् भन्छु ।’

अध्यक्ष नेपालले नीतिगत रुपमा मन्त्री परिषदमा सहभागिता गराउने भन्ने सहमति भइसकेपनि व्यवहारमा कार्यान्वयन नभएको बताए । गण्डकीमा नीति तथा योजना आयोगको सदस्यमा सहभागिता गराउने विषय कार्यान्वयन भएपनि मन्त्री बनाउने विषय भने कार्यान्वयनमा नआएको उनको भनाई छ । नीतिगत रुपमा मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री सहमत भएपनि कार्यान्वयनमा ढिलासुस्ती गरेको अध्यक्ष नेपालको आरोप छ ।

अध्यक्ष नेपालले मनाङे पार्टीप्रति प्रतिबद्ध भएको बताए । नेकपा एस गण्डकीका ईञ्चार्ज तुलबहादुर गुरुङबाट मनाङेबारे जानकारी लिएको बताउँदै उनले भने,‘उहाँ पार्टीप्रति प्रतिबद्ध हुनुहुन्छ । पार्टी गतिविधिमा सामेल हुनुहुन्छ, भन्नुभो ।’ उनले पार्टीप्रति प्रतिबद्ध भइसकेपछि मनाङेलाई मन्त्री बनाउने जिम्मेवारी आफ्नो र पार्टीको भएको बताए ।

गुण्डा नाईकेको छवी बनाएका मनाङे गण्डकी प्रदेश सभा सदस्यमा मनाङ क्षेत्र नम्बर (ख)बाट सर्वसम्मत निर्वाचित भएका हुन् । सर्वसम्मत रुपमा निर्वाचित मनाङे पछि नेकपा एसमा प्रवेश गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।