कहां गए ति दिनहरु…….।(बिहे-स्मृति)


     बिश्व सिग्देल    
     मंसिर २९ गते २०८० मा प्रकाशित




भलो भो……. ! भलो भो ……. !

बिहेका लगन अधिकांस राती निकाल्थे ।बिबिध कारणले हिजोआज पुरेतहरुले दिउसोको लगन निकाल्न थाले । बिहेमा दुइ पक्षका हुल्याहा केटाहरुको मारपिट, समय र खर्चपर्चको बचतको निमित्त पनि दुई दिने बिबाह र रातिको लगन बिस्तारै घटाउंदै गएको हुनुपर्छ ।

पहिले बिहेको जन्त जान केटाकेटीहरुलाइ निकै ठुलो कसरत गर्नु पर्थ्यो । बिहेको जन्त जाने भनेर एक साता अघिनै धोएर पेटारोमा जतनले पट्याइवरी राखेको लुगा, केटाकेटी लैजांदा हिंडन उकालो ओरालो गर्न सक्दैनन् भनेर लैजादैनथे, पेटारोमै थन्किन्थे, रोएर बसिन्थ्यो । जन्त जांदा रमाइलोमात्र हैन जन्ते बाख्राको झोल पनि केटाकेटीको मरिहत्ये गर्ने कारण हुन्थ्यो । जन्ते बाख्रोमा चौटा जती दुलाहाका बाउ काकाभतिजा गांउंका मुखिया भद्रभलाद्मीलाइनै पुर्याउंदा ठिक्क हुन्थ्यो ।केटाकेटीको भाग्यमा झोलै हुन्थ्यो , त्यो पनि ठहरबाट चुइएर गह्राको माटो भिज्थ्यो ।

जन्त जान केटाकेटी मात्र हैन, जुत्ता कोट टोपी नभएका लुरेलाम्रे सोझा गल्ल्यांग्रा जस्ता दाजुभाईनै किन नहुन् उनिहरुलाइ सकेसंम लैजान खोजिदैनथ्यो, उता पट्टि ईज्जत र रौब देखाउन जो पर्थ्यो । हिजो आज पनि निजी गाडी, सुट नभएका निकट भाइहरु भन्दा, भएका टाढाकाले जन्तमा प्राथमिकता पाउंछन । त्यो बेलाको सोच पनि त्यस्तै हुंदो हो । गाउंमै सिलाएका साबरका बाघकाने जुत्ता, खरानी पानीको बाहनमा पकाएर सुकिलो बनाएको कमिज सुरुवाल र रंग उडेको पुरानो कोट, त्यो बेलाको संभ्रान्त देखिन पर्याप्त थियो । कोट जुत्ता नहुनेहरु पल्लो गाउंका ईष्टमित्र साथीहरुकहांबाट एक रातलाइ भए पनि सापटी मागेर ल्याउंथे । यति पहिरन भएपछी कपडाको खोल हालेको फिलिप्स रेडियो भिरेर जन्त जानु त दुलाहा, दुलाहाको बाउ भन्दा चर्को सान मानिन्थ्यो । रेडियो सुन्न जन्तीमात्र हैन घरभेटी समेत रातभर झुम्मिन्थे ।

जन्तमा सबैभन्दा ठुलो इज्जत पाउने अर्को मानिस सिलोक (श्लोक) हाल्नेको हुन्थ्यो ।सिलोकमा माइतीका सिलोकेका जित्नु पर्छ भनेर टाडा टाडाका गोरुबेचे साइनो पर्ने सिलोकेलाइ समेत मानमनितो साथ बिहेमा लैजान्थे। रातभर सिलोकको दुईपक्ष बिच दोहरी चल्थ्यो । जन्ती जांदा बाटोमा बरियात जम्काभेट हुंदा दाहिनेबाट को जाने ? भन्ने झगडामा जन्तीको ज्यानसम्म गएको सुनिन्थ्यो ।त्यही प्रयोजनले त्यो बेलाका बलियाबांगा (अहिलेका डन जस्तालाई) पनि खोजि खोजि सामेल गराइन्थ्यो।

ति जुगका बिहेका बागदत्तो बोले देखि दुरान फर्काएसम्मका कथा भन्ने हो भने एक महिना लाग्छ । लेख्ने हो भन्ने अर्को महाभारतको ठेली हुन्छ होला ।त्यता म जान्नॅं, अहिले म तेतीबेलाको एक प्रसंग मलाई रोचक लागेकोले त्यतामात्र सिमित हुन्छु ।

त्यतिखेर स्वयंबरको चलन थिएन । ब्रम्ह बिबाह, देब बिबाह पद्धतिमा स्वयंबर समेत हुनु अधार्मिक मानिन्थ्यो । स्वयंबर भएपछि गन्धर्ब बिबाह हुने, गन्धर्ब बिबाह पनि हिन्दू बिबाह पद्धतिकै बैध अंग भएका कारण, स्वयंबर भए पछि केटा केटी कन्या कुमार नरहने र यिनिहरुलाई ब्रम्ह बिबाह वा देब बिबाह बिधिमा जग्गेमा लैजानु अपराध मानिन्थ्यो ।

जन्ती पर्संदा, बरणी गर्दा, कन्यादान गर्दा सिंदुर राख्दा जन्ती घरबेटी सबैले भलो भो‘,भलो भो‘भनेर समवेत स्वरमा भट्याउंथे । धेरै बर्षसंम मैले यिनिहरुले के भनेका होलान्, बुझ्न सकिनॅं, मनमा जिज्ञांसा रहि रह्यो ।हिजो आज जन्तीहरु बिहेका यस्ता बिशेष बेला ताली बजाउंछन, उरन्ठेउला ठिटाहरु सिठी बजाएर होहल्ला गर्छन् ।यो भलो भो भलो भो ‘ सुनिदैन ।अबको पिंढीले सुनेको पनि छैन बुझेको पनि छैन । शुभकर्म, उत्सब, कसैले बिशेष उपलब्धी हासिल गर्दा सुभकामना दिने, बधाई दिने, प्रसन्नता ब्यक्त गर्ने, हौस्याउने तात्कालिन यो शब्द अहिले गम्दा निकै सार्थक सटिक मौलिक सहज र सरल पनि रहेछ भन्ने लाग्यो । भलो भो भनेको “कल्याण भो” रहेछ।

अब हामी पनि हाम्रो यो बिरासत ‘भलो भो’ लाइ सबै खुसीका पर्बमा ,शुभकामनामा, बधाइमा प्रयोग गर्ने कि ? यो मृतप्राय शब्द धरोहरलाइ पुनर्जिबित गर्ने कि रु भलो भो…..भलो भो…. भलो भो….. भलो भो …. !

उहिले छोरी ९/१० बर्ष पुगे पछि यो अर्काको नासो कस्लाइ बुझाउने, परिबारमा पिर हुन्थ्यो । कन्यादान, पुराण भागवत तीर्थ ब्रतादि अन्य तप पुण्य भन्दा अति उत्तम पुण्य मानिने हुंदा रजस्वला नहुंदै कन्यादान गरेर अन्माउने बा आमा ईष्टमित्र कुलकुटुम्बको चिन्ता हुन्थ्यो । एक प्रकारले केटी पक्षकाहरु चारै दिशा कुलिन सम्पन्न पढे लेखेको बर खोज्न दौडधुप हारगुहार गर्थे । लमिको निकै ईज्जत हुन्थ्यो । के असार, के मंसिर, बाह्रै महिना घरको कामधन्धा समेत हापेर लमिहरु नारद मुनीझैं गाउंघर टोल छिमेक चियोचर्चो तथा परिक्रमा गरिरहहन्थे । बिबाह गरिदिए बापत जन्तेबाख्राको खसीको टाउकोदेखि एकजोर कमिज सुरुवाल, हुनेखाने कसै कसैले एक तोलाको बेरुवा औंठी समेत दिन्थे ।बिबाह पछि उसको घरमा पाहुना लाग्दा सधैं मिठो चोखो मानमनितोसंग खान पनि पाइन्थ्यो ।घर बिग्र्यो भने लमीलाइ सत्तो सराप गर्दै सक्नेभए गाउंबाटै समेत खेद्थे । लमि हुन पनि गाह्रै थियो ।

सम्पत्तिमा परालको टौवा, गोठमा बांधिएका लैनाबकेर्ना भैंसी, हलगोरु, अब्बल माटोमुरीको खेत पाखो, आदि बाहिरबाटै आंकलन गरेर छुट्याइन्थ्यो । कन्या पक्षले कति गोडधुवा दिन सक्छ भन्दै केटो पक्षकाहरु जोखतौल गर्दै मोलमोलाइ गर्दै हिंडथे । केटाकेटीको योग्यता रुप चालढाल ब्यबहार चालचलन गोडधुवाका जोर ताउला गाउरी र परालका टौवाका अगाडी बाउन्ने हुन्थे ।लेनदेन नमिले कतिपय पटक आंटेको बिहेपनि भांच्चिन्थ्यो । रुद्री चण्डी अमरकोष किताब नहेरी मुखाग्र भन्न सक्ने, वा यता सरकारी स्कुल तर्फ आठसम्म पढ्दै गरेको केटो बिहे योग्य मानिन्थ्यो ।केटीलाइ कुनै पढाइको योग्यता जरुरी थिएन । एस एल सि दिने केटो र अक्षर फुटालेर पढन सक्ने केटी अहिलेका बिए एमए भन्दा माथी मानिन्थे ।

लमिले दुबै तर्फका बा’हरु राजी गराएपछि एउटा चौतारीमा वा आफ्नै घरको पिंढीमा दुबै पक्षकालाई बोलाउंथे ।लेनदेन, गोडधुवाको बथबाजी, जन्तिसंख्याको निधो सबै सकिएपछी केटीका बा’ले दुनोमा जनै सुपारी फूल अक्षेता मोहर रुपियां र हलेदाको टुक्रा राखेर ,” मैले मेरी कन्या हजुरलाइ टक्र्याएं ,अमुक मिती लगनको सुभमुहुर्तमा बर सहित बरियांत लिएर मेरी कन्या कन्यादान लिन पाल्नु होला, भनि निमन्त्रणा गर्थे, यसलाई बागदत्त बोलिएको भनिन्थ्यो । बागदत्त बोलेकी कन्या र बर को अर्कोसंग बिबाह हुन सक्दैनथ्यो । गरे एक तह जातबाट घटुवा हुन्थे। अर्को ठाउंमा बिहे हुन गाह्रो हुन्थ्यो केटाकेटी अर्ध कन्या, अर्ध कुमार मानिने हुनाले खोटी मानिन्थे। हलेदो दिनु भनेको यही हलेदो पिसी बुकुवा बनाइ बरको शृंगार गरेर ल्याउनु भन्ने थियो । बुकुवा भारतिय संस्कृती हल्दि ,मेहन्दि भनेजस्तै हो जसलाइ हिजोआज अन्धानुकरण गरियर बिहे भन्दा बोझिलो बनाइयको छ, मध्य निम्न मध्यम र गरिबको हुर्मत लियिएको छ । यो अहिलेको ईंगेजमेन्ट भनेको यहि बागदत्त र जनैसुपारी हो । जुन कर्म बोहोतो जनै सुपारी एक मोहर दाम र हलेदोको ठुन्कोमा सम्पन्न हुन्थ्यो ।कतै चिया खाने ठाउं समेत हुन्थेन, कांचो पात कुटेको सुर्ती, ककड भुसाहाको सर्कोमै जनैसुपारी कार्यक्रम सकिन्थ्यो ।

दुलहीका बा’ले बल्ल घरमा आएर श्रीमतीलाइ मैले छोरीको बिहे फलानाको छोरासंग छिनेर आएं । जन्ति यति जना आउंछन । जन्ती घरभेटी पाहुनापाछा सबैलाइ पुग्ने गरेर धान कुटनु , बनपात गरेर बोहता टपरी गांस्नु, सामानहरु जोरजाम गर्नु भनेर, आंफु अन्यकाममा लाग्थे ।केटीलाइ घरमा उत्सब हुंदैछ भन्ने त लाग्थ्यो तर के उत्सब हो थाहा हुन्थेन । बिहेको कपडा किन्न, गोडधुवाको ताउला गाउरी किन्न, घिउ मरमसला दान दक्षिणाको जोरजाममा बाउको टुप्पीबाट धुंवा निस्कन्थ्यो । यता केटाको बाउको हालत पनि लगभग उस्तै हुन्थ्यो ।कपडा सुन जन्तेबाख्राको खसी दान दक्षिणाको जोहो , घरपरिबार चेलीबेटी का छुट्टै कपडा जोरजाम गर्दा दुलाहको बाउका नौ नारी गल्थे । कपडा किन्न गाउंको सिपालु बजारमा राम्रो पहुंच भएको ,पुगनपुग भए उधारोमा समेत जमानी बसिदिन सक्ने मानिसको खोजि हुन्थ्यो । यि पनि लमि जस्तै पेसेबर हुन्थे, कपडा बेच्ने साहुले यतैबाट चुकानी झिकेर पनि उसलाई एक जोर रोजेको कपडा दिनु पर्थ्यो।

अल्लि कमजोर दुलही पक्षका भए एउटा चरेसको थालमा गोडा धोयर, त्यही थालमा केही रुपियां राखी रातो रुमालको नातो बेरेर ,ल हजुर गरिब छु ,नानी र पानी टक्र्याएको छु । “मारे पाप पाले पुण्य” भनेर दुलाहाका बाउ संग हात जोड्थे । गोडधुवा नदिएको ,तिन जोर दिन्छु भनेको मा दुइ जोर दिएको भने दिएको फतुर लगाएर गोडदुवा आंगनमै छाडेर हिंडेको ,कसैकसैले दुलही समेत छाडेर हिंडेको सुनिन्थ्यो ।दुलही पक्षका साथी संगी महिलाहरुबाट पनि दुलहीका कपडा कमसल भएको, गहना गतिलो नभएको भनेर दुलहीनै दमपच पारिदिएको, पछी मान मनितो लेनदेन गरी दुलही जग्गेमा निकालेको म आंफै जन्त जांदा धेरै चोटी देखेको छु । कतिले पोखरा तिर मान्छे दुगुराएर माईतीका महिला संगी साथीको चित्त बुझ्ने कपडा किनेर ल्याय पछिमात्र सो कपडा पहिर्याएर दुलही जग्गेमा निकालेको मैले देखेको छु ।

दुलाहालाई अघिल्लो दिनमै नुहाइधुवाइ गराएर बुकुवा (हलेदो पिसेको पेष्ट) दलेर पखालेर चिरीच्याट्ट बनाइन्थ्यो । छर छिमेकका सबै महिलाहरु हप्ता दिन अघि देखी बनबाट पात टिपेर ल्याउने ,धान कुटने पिठो कुटने दुना टपरी गांस्ने सेल अनरसा अर्सा झर फिनी बनाउने कसार बटार्ने काममा बोलाइन्थ्यो भने औपचारिक निम्ता पुरुषहरुलाइ अघिल्लै दिन जग्गे बनाउने, भोली पल्ट जन्त जाने, महिलाहरुलाई रत्यौली खेल्ने निम्तो हुन्थ्यो । दुलाहाले भोटो दौरा धोती वा सुरुवाल फेटा साबरका जुत्ता र फेटा छाता मंगल चिन्ह सहित, “मंगलं भगबान बिष्णु, मंगलं गरुडध्वज” मन्त्र लेखिएको माहुर श्रीपेच झैं टांस्थे ।पछी दौरा सुर्बाल कोट, सुट ,हुंदै भारतिय नक्कलको पहिरन आएको छ ,जुन हाम्रो मौलिक होइन ।दुलही गुन्यु चोली पटिका ,गहनामा श्रीफूल ,चन्द्रमा,किलिप, शिरबन्दी, बाला, सिलमुन्द्री ,ढुंग्री, बुलांकी र झण्डै आधि किलोको कल्ली लगाउंदा पहिरननै दुलहीको तौल जति हुन्थ्यो ।

दुलहीलाइ बाबुले वा दाजुभाइले बोइ बोकेर जग्गे तिनचोटी घुमाइ डोलामा सुताइ दिन्थे भने दुलाहा डोलाको डांडी समाइ झोलुंगो जस्तो भागमा बस्थे ।तामदानीलाइ बाबुसाहेब काजी राजाहरुको सोख मानिन्थ्यो ।पछी दुलाहलाइ चडन ठुला मान्छेको देखासिकी गरी घोडा समेत प्रयोग गर्न थाले । राजाहरुले राजकुमारहरुको बिबाहको निमित्त दुरदराजका ठकुरीहरु कहांबाट राम्रा राम्रा साना साना कन्या छानी डोलामा बोकाएर ल्याउने र उनिहरुलाइ दरबारमा तालिमेहरुबाट दरबारी भाषा बोली खानपिन डिडडुलका अन्दाजहरुको तालिम दिएर राजकुमारसंग बिहे गराउंथे ।यसलाइ ‘डोला झिकाउने ‘ भनिन्थ्यो ।त्रिभूवनको पालासंम यो चलन रह्यो ।सुदुर पश्चिम तिर बिरामी बोक्न र यदाकदा बिहेमा पनि डोलाको प्रयोग अझै हुन्छ ।
भलो भो।। भलो भो ।।

अहिलेलाइ यत्ति ,बांकी अध्याय जांगर चले लेखौंला ।
(तस्विर : सुनिल उलकको संग्रहबाट ।)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।