पत्रकारितामा सुधार आवश्यक छ : देउवा

- ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’बाट डा.आचार्य, शर्मा र बास्तोला सम्मानित


     एभरेस्ट आवाज    
     पौष ४ गते २०८० मा प्रकाशित




पोखरा, पुस ४

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले रचनात्मक पत्रकारिताको खाँचो रहेको औंल्याएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापती देउवाले पत्रकारितामा सुधारको खाँचो रहेको बताएका हुन् । पत्रकारितामा ‘ब्याड न्यूज ईज गुड न्यूज फर मिडिया’ मान्ने प्रचलन रहेको भन्दै उनले भने, ‘तर पत्रकारिता कन्स्ट्रक्टिभ हुनुपर्छ । राजनीतिमाजस्तै पत्रकारितामापनि सुधारको खाँचो छ ।’

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारितामा नियमन जरुरी रहेको बताए । पत्रकारितामा छाडातन्त्र रहेको उनले बताए । गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ,उनले भने,‘तर स्वतन्त्रताका नाममा पत्रकारितामा छाडातन्त्र स्वीकार्न सकिदैन । यसलाई नियमन जरुरी छ ।’

गण्डकी प्रदेशकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडाले पत्रकारिता समाजको दर्पण भएकाले यो जिम्मेवार बन्नुपर्ने बताईन् । अन्य क्षेत्रमाजस्तै पत्रकारितामापनि विकृति भित्रिएकाले यसलाई संग्लाउन पत्रकारहरु नै जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा पत्रकारिता वृत्ति सम्मानबाट तीन जना बरिष्ठ पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मान गरिएको हो । नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न गरिएको हो । सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सम्मान गरिएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष विमला भण्डारी, संघका पूर्व अध्यक्षहरु बद्री विनोद प्रतीक, पून्य पौडेल, पुरस्कार दाता परिवारका तर्फबाट केसी परिवारका सदस्यहरु किरण केसी, प्रकाश केसीलगायतले ताम्रपत्र, दोषल्ला, खादा र माला लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै सम्मानित आचार्य, शर्मा र बास्तोलाले सम्मानले थप जिम्मेवारी बोध गराएको बताए । पत्रकारिता लोकतन्त्रको पर्याय भएको भन्दै उनीहरुले स्वतन्त्र र जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।