सुदन किराँतीलाई जहाँ भेट्यो त्यहीं ठोक्ने नेविसंघको घोषणा


     एभरेस्ट आवाज    
     पौष ६ गते २०८० मा प्रकाशित




पोखरा, पुस ६

नेपाल विद्यार्थी संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई जहाँ भेट्यो त्यहीं ठोक्ने घोषणा गरेको छ । क्रिश्चियन धर्म नमान्नेलाई जेल कोच्नुपर्छ भनेर विवादास्पद अभिव्यक्ति दिएको विरोधमा नेविसंघ कास्कीले शुक्रबार साँझ पोखरामा आयोजना गरेको विरोध सभामा बोल्दै नेविसंघका नेताहरुले मन्त्री किराँतीलाई जहाँ भेट्यो त्यहिं ठोक्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्नै नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापती सुशील न्यौपानेले मन्त्री न्यौपानेलाई सरकारले नै कारवाही गर्नुपर्ने बताए । मन्त्री किराँतीले नैतिक रुपमा पदबाट राजिनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले नै बर्खास्त गर्नुपर्छ,उनले भने,‘होईन भने नेविसंघले किराँतीलाई जहाँ भेट्यो त्यहिँ ठोक्छ ।’ उनले क्रिश्चियनको पैसा खाएर मन्त्री किराँतीले हिन्दू धर्ममाथि प्रहार गरेको आरोपसमेत लगाए ।

नेविसंघका केन्द्रीय सदस्य सञ्जय आलेले देश, धर्म, संस्कृतिमाथिको प्रहार सह्य नहुने बताए । देश, धर्म र संस्कृतिका लागि जीवन आहूती दिनपनि पछि नपर्ने बताउँदै उनले भने,‘डलर खाएर हिन्दू धर्ममाथि किराँतीले गरेको प्रहार कदापी सहिन्न । त्यसका लागि जस्तोसुकै लडाईं लड्नपनि नेविसंघ तयार छ ।’

यसअघि नेविसंघले पोखराको चिप्लेढुंगामा रहेको नेपाली कांग्रेस कास्कीको कार्यालय अगाडि मन्त्री किराँतीको पुत्ला दहन गर्ने प्रयास गरेको थियो । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहिबेर झडपसमेत भएको थियो । झडपहुँदा सानो समूहमा रहेका नेविसंघका विद्यार्थीहरु कांग्रेस कार्यालयमा लुक्न पुगेका थिए । तर केहिबेरपछि पुनः बाहिर निस्केर उनीहरुले कोणसभा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।