पुस १० काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल थाल्ने बताएका छन् । वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यसवर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा दुई दशमलव सात प्रतिशत बिन्दुले कम भएको उल्लेख गरे ।
“यो पक्कै उपलब्धि हो । तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन, उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी काम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ”, प्रधानमन्त्री प्रचण्डले भने, “बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा सकारात्मक प्रभाव पर्ने निश्चित छ ।”
भुक्तानी सन्तुलन झण्डै रु एक खर्ब ५० अर्बले सकारात्मक रहनु र विगत कैयौँ वर्षदेखि घाटामा रहेका चालु खातासमेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पूँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित भएको र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए ।
“व्यापार घाटामा कमी आएको छ, तर निर्यात नबढिकन आयात मात्र घटेर कम हुँदा व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता म यहाँहरूलाई लुकाउन चाहन्नँ । समस्यालाई जनतासँग लुकाएर देश अघि बढ्दैन”, प्रधानमन्त्री प्रचण्डले भने,“आन्तरिक उत्पादनसँगै निर्यात पनि बढाउने गरी उत्पादन परिमाण वृद्धि गर्नका लागि म आवश्यक पहल गर्छु । विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ ।”
अब आफ्नो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन तथा रोजगारी बढाउनेतर्फ केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सबै आर्थिक र कूटनीतिक नियोगलाई लगानी तथा पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध रहेको बताए । उनले भने, “कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुख फिर्ता बोलाइने छन् ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







