राष्ट्रिय सभामा गण्डकीबाट १६८ जनाको नाम सिफारिस, उम्मेदवारको सूचीमा अधिकांश पुरानै अनुहार


     एभरेस्ट आवाज    
     पौष १२ गते २०८० मा प्रकाशित




पोखरा । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले गण्डकीबाट १६८ जनाको नाम सिफारिस भएको छ । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गण्डकीका ११ वटै जिल्लाबाट पहिले १६७ जनाको नाम सिफारिस गरेपनि पछि एक जना थपेर १६८ जनाको नाम सिफारिस गरेको हो ।

कांग्रेसले गण्डकीको कास्कीबाट सबैभन्दा धेरै ४३ जना सिफारिस गरेको छ भने मनाङबाट सबैभन्दा कम दुई जना सिफारिस गरेको छ । कांग्रेसले कास्कीबाट अन्यमा ३१ जना, महिला १० जना र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट २ जना गरेर ४३ जनाको नाम सिफारिस गरेको हो ।

मनाङबाट अन्य र महिलाबाट एक÷एक जना सिफारिस गरेको छ । त्यस्तै, कांग्रेसले बागलुङबाट अन्यमा १६, महिला ५ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट २ जना गरेर २३ जना, स्याङ्जाबाट अन्यमा ११, महिला ३ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट ५ जना गरेर १९ जनाको नाम सिफारिस गरेकोछ ।

नेपाली कांग्रेसले नवलपुरबाट अन्यमा १० र महिला ८ गरेर कुल १८ जना, पर्वतबाट अन्यमा ९, महिला ३ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट २ गरेर १४ जना, गोरखाबाट अन्यमा ९ जना, तनहुँबाट अन्यमा ७, महिला ६ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट ४ गरेर १७ जना, मुस्ताङबाट अन्यमा ५ र महिला एक गरि ६ जना, लमजुङबाट अन्यमा ५, महिला २ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट ३ गरे १० जना र म्याग्दीबाट अन्यमा ३, महिला १ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट १ जना गरेर ५ जनाको नाम सिफारिस भएको नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए ।

नेपाली कांग्रेसले गण्डकीबाट सिफारिस गरेकाहरु अधिकांश पुराना र बुढाहरु छन् । जसले यसअघि नै कयौंपटक अवसर पाइसकेका छन् । कांग्रेसले कास्कीबाट अन्य क्लस्टरमा पार्टीका पूर्व महामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, पूर्व सांसद तथा कांग्रेस गण्डकीका सभापती शुक्रराज शर्मा, कांग्रेस कास्कीका उपसभापति आइबहादुर गुरूङलगायत छन् ।

कास्कीबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीपनि आकांक्षी देखिएका छन् । त्यस्तै कास्कीबाट दुई पत्रकारहरु शिरोमणी बराल र राजबहादुर गुरुङको नामपनि सिफारिसमा परेको छ ।

गण्डकीबाट स्याङ्जामा पूर्वमन्त्री तथा उपसभापति गोपालमान श्रेष्ठ, नवलपुरबाट गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि स्याङ्जाका मेडिकल शिक्ष व्यवसायी खुमा अर्याल, तनहुँका पुराना नेता रामचन्द्र पोखरेल, रघु पौडेलकोपनि नाम सिफारिसमा परेको छ । पूर्व मुख्यमन्त्री पोखरेल अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट उम्मेदवारको सिफारिसमा परेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।