पोखरा, पुस १३
कास्कीका पाँच सहकारी डुब्दा करीब ३ अर्ब रुपैयाँ जोखिममा परेको छ । कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, मित्र मिलन बचत तथा ऋण सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था डुब्दा बचतकर्ताहरुको २ अर्ब ८३ करोड ३७ लाख ७१ ह्जार रुपैयाँ जोखिममा परेको हो ।
डुबेका पाँच सहकारीका ३ हजार ६ सय ९ जना बचतकर्ता बिचल्लीमा परेका छन् । सहकारी सञ्चालकले सहकारी ऐन अन्तर्गत नचलाई रकम अपचलन गरेपछि उक्त संख्याका बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको कास्की प्रहरीले जनाएको छ । उजुरीमा सहकारी सञ्चालकहरुले ठगी गरेको बचतकर्ताहरुले उल्लेख गरेका छन् । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका ७१४ जनाले उजुरी दिएका छन् । कुल ३ हजार ४ सय ४६ जनाले १८ करोड २ लाख ३४ हजार ४ सय ९७ रुपैयाँ बचत गरेपनि सो संख्याका बचतकर्ताले मात्रै उजुरी हालेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार ती बचतकर्ताले ३२ जना विरुद्ध उजुरी दिएका छन् । तीमध्ये ५ जना पक्राऊ गरिएको र बाँकी २७ जना फरार रहेको उनले बताए । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सदस्य गोपाल खनाल, सल्लाहकार सदस्य राजु बराल, र सेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् । सहकारीका उपाध्यक्ष बिजय लम्साल, पूर्व लेखा समिति सदस्य अर्जुन गिरीलगायत भने फरार रहेको डिएसपी विकले बताए । सहकारीको शाखा खोल्न भनेर १ करोड ५ लाख घुस लिएको आरोपमा स्याङ्जा वालिका नगरपालिका वडा नम्बर–११ धनपुरे घर भई पर्वतको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ५२ वर्षिय उदयबहादुर पराजुलीलाईपनि पक्राउ गरिएको उनले जानकारी दिए ।
त्यस्तै सूर्य दर्शनका एक हजार एक सय जनाले प्रहरीमा उजुरी हालेका छन् । उनीहरुले सहकारीका १९ जना सञ्चालकबिरुद्ध उजुरी हालेका हुन् । सहकारीका १ हजार ८ सय जना बचतकर्ताले १ अर्ब, ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ रुपैयाँ जम्मा गरेका छन् । सञ्चालकमध्ये सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ गरिएको छ । दर्लामीलाई विहीबारमात्र पक्राउ गरिएको हो । सहकारीका पूर्वअध्यक्ष गीतेन्द्रबाबु राई (जिबी)सहित वर्तमान तथा पूर्व सञ्चालक समिति र लेखाका कर्मचारीसहित अन्य १७ जना अझै फरार छन् । पूर्व अध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे)विरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न कास्की प्रहरीले पत्राचार गरिसकेको छ ।
यसैगरी ईमेज सहकारीका ५ सय २४ जनाले आफूहरु ठगिएको भन्दै उजुरी हालेको कास्की प्रहरीले जनाएको छ । उनीहरुले सहकारीका १५ जना सञ्चालकबिरुद्ध उजुरी दिएका छन् । ईमेज सहकारीका ५ सय २४ जनाले बचत गरेको ६४ करोड ८८ लाख ६० हजार ४ सय ७९ रुपैयाँ जोखिममा परेका छन् । त्यसमध्ये ५७ करोड बढी रकम ठगिएको उनीहरुको उजुरीमा उल्लेख छ । उजुरी परेकाहरुबिरुद्ध पक्राउ पुर्जी जारी भएकोमा संस्थापक अध्यक्ष चित्रबहादुर भण्डारी, सदस्य विमला गुरुङ, लेखा समिति संयोजक शक्ति किसान, लेखा समिति सदस्यहरु भुमि भण्डारी, निशा कार्की र विष्णु पौडेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएकोमा २ जना पुर्पक्षको लागि थुनामा पठाइएको डिएसपी विकले जानकारी दिए । अन्य ४ जना भने धरौटीमा छुटिसकेको उनले बताए । सहकारीका अध्यक्ष देव नेपालीसहित बाँकी ९ जना फरार रहेको जनाइएको छ ।
बलिदानी सहकारीका १ सय ९८ बचतकर्ताले आफूहरुको रकम अपचलन गरेको भन्दै उजुरी हालेका छन् । उनीहरुले सहकारीका १५ जनाबिरुद्ध उजुरी हालेका छन् । बलिदानी सहकारीमा ६ हजार ३ सय ४५ जनाले १० करोड ६९ लाख ३५ हजार ८ सय ४४ रुपैयाँ बचत गरेका थिए । त्यसमध्ये आफूहरुको ४ करोड २८ लाख ५३ हजार ६० रुपैयाँ अपचलन भएको उजुरीमा भनिएको छ ।
उजुरी परेकामध्ये अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, कोषाध्यक्ष सुवर्णमान नकर्मी, सदस्य डिल्लीराम सिग्देल र लेखा समिति सदस्य सचिना थापालाई पक्राउ गरिएको डिएसपी विकले जानकारी दिए । उनका अनुसार अन्य १० जना अझै फरार छन् ।
यस्तै शिव शिखर सहकारीका १ हजार १ सय ३९ जनाले ठगिएको भन्दै उजुरी हालेका छन् । सो सहकारीमा ७ हजार १ सय ७० जनाले ५४ करोड २३ लाख ८५ हजार ३ सय ६८ रुपैयाँ बचत गरेका थिए । त्यसमध्ये ४३ करोड ३९ लाख ८६ हजार २ सय ४२ रुपैयाँ अपचलन गरेको भन्दै उनीहरुले एघार जनाबिरुद्ध उजुरी दिएका हुन् । उजुरी परेकामध्ये सदस्य अमीसराज भण्डारी, पुस्कर मल्ल, पूर्व अध्यक्ष केदारनाथ शर्मा र व्यवस्थापक लीलानाथ शर्मालाई पक्राउ गरिएको डिएसपी विकले जानकारी दिए । बाँकी ७ जना फरार रहेको उनको भनाई छ ।
यसैबीच, कास्की प्रहरीले सहकारी अपचलनसम्बन्धी अनुसन्धान गर्न पोखरा महानगरपालिका समक्ष विज्ञ उपलब्ध गराउन अनुरोध गरेको छ । जसअनुसार महानगरले चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने र सहकारी क्षेत्रका अध्येता दीपकप्रकाश आचार्यलाई विज्ञका रुपमा पठाएको सहकारी शाखा प्रमुख भरतराज पौडेलले जानकारी दिए । उनीहरुले पोखराका सूर्यदर्शन, ईमेज र बलिदानी सहकारीको अध्ययन गरेर प्रहरीलाई मुद्धा अभियोजनका लागि सघाएको उनको भनाई छ । उनले भने,‘नियमनकारी निकाय कमजोर बन्दा सहकारीमा समस्या देखिएको पुष्टि हुन्छ । हाम्रो अध्ययनलेपनि त्यहि देखायो ।’ सहकारी छाडा तरिकाले सञ्चालन हुँदा समस्या देखिएको बताउँदै उनले थपे,‘सहकारीलाई एनजिओ जसरी छाडा छोडियो, लोभी बचतकर्ता, सहकारीको पृष्ठभूमि भेउ नपाएका सञ्चालक र सहकारी ऐन कडाई नगर्दा समस्या देखिएको हो ।’ यसलाई नियमन गर्न ढिलाई गरे अन्य सहकारीमापनि समस्या थपिन सक्ने उनको चेतावनी छ ।
पोखरा महानगरपालिका सहकारी समितिका सदस्य तथा सहकारीका अध्येता दीपकप्रकाश आचार्य सहकारी आफैले स्वनियमन गर्नुपर्ने भएपनि व्यक्ति प्रधान हुँदा सहकारीमा समस्या देखिएको बताउँछन् । सहकारीमा सुशासनपनि कमजोर भयो,उनले भने,‘सेयर सदस्यले नियमन गर्नुपर्ने हो तर सकेनन् । मुख्य पदाधिकारी (अध्यक्ष) हाबी हुँदा सहकारीमा मनोमानी र अपचलन बढेको पाईयो ।’ कतिपय सहकारीमा पूर्व अध्यक्ष नै हर्ताकर्ता बनेर वर्तमान समितिमाथि हैकम लाद्दासमेत सहकारीमा समस्या थपिएको उनको भनाई छ । ‘कतिपय सहकारीमा अध्यक्ष सक्षम छैनन् । सहकारी क्षेत्र नबुझेको अध्यक्ष भएपछि कर्मचारीले आफू अनुकुल चलाउँदापनि सहकारीमा जोखिम थपियो’–उनले भने ।
उनका अनुसार सहकारी ऐनले सदस्य नबनेसम्म आर्थिक कारोबार गर्न दिदैन तर ऋण लिनलाई अधिकांश व्यक्ति नबुझीनबुझी सदस्य बने । जसले गर्दा कार्यसमितिमा उनीहरुको पहुँच पुगेन र कार्यसमितिले मनोमानी गर्दा नियमन गर्न सम्भव भएन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







