विपिन जोशीको सकुशल रिहाइका निम्ति सभामुखको अनुरोध


     एभरेस्ट आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित




पुस १८ काठमाण्डौं । सभामुख देवराज घिमिरेले आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गरेका छन् ।

नेपालका लागि इजरायलका राजदूत खनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उनले निर्दोष जोशीको रिहाइका निम्ति अनुरोध गरेका हुन् । राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा नेपाल–इजरायल सम्बन्धका विविध पक्षका साथै कृषि क्षेत्रको विकासबारे पनि छलफल भएको थियो ।

गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियोभने जोशीलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ ।

उक्त दिनपछि इजरायलले गाजापट्टीमा जारी राखेको आतङ्कवादीविरुद्धको सैन्य कारबाहीमा २२ हजार एक सय ८५ जनाको ज्यान गएको तथा ५७ हजार घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।