पोखरा, पुस २५
पोखरेली व्याण्ड कन्दरा २० वर्षपछि गृहनगर पोखरामा गुञ्जिने भएको छ । कुनैबेलाको चर्चित र लोकप्रिय कन्दरा व्याण्ड झण्डै २० वर्षपछि आउँदो शुक्रबार साँझ पोखराको प्रदर्शनी केन्द्र नयाबजारमा गुञ्जिन लागेको हो । पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको आयोजनामा ‘कन्दरा सांगीतिक अभियान–२०८०’ अन्तर्गत पोखरामा पहिलो कार्यक्रम हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुस २७ गते साँझ ५ बजेदेखि ७ बजेसम्म २ घण्टा कन्दराले आफ्नो नया तथा पुराना गरेर डेढ दर्जन गीत प्रस्तुत गर्नेछ । कार्यक्रममा कन्दराका गायक विवेक श्रेष्ठ गुञ्जिरहँदा उनलाई सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन र पंकज झाले संगीतमा साथ दिनेछन् ।
कन्दरा लाईभ कन्सर्टसमेत नाम दिइएको सो सांगीतिक कार्यक्रमको व्यवस्थापन कन्दरा व्याण्डको व्यवस्थापन हेर्दै आएको अल्फा स्क्वायर प्रालिले नै गर्ने भएको छ । जसले सांगीतिक अभियानलाई सफल बनाउनका लागि पोखराको प्रदर्शनी केन्द्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको स्टेज निर्माण गरेको दाबी गरिएको छ । कार्यक्रमलाई भव्यता दिन काठमाडौंबाटै आईएसएसको साउण्ड सिस्टम र लाईट ल्याएर प्रयोग गरिएको आयोजक पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । ‘हामीले कार्यक्रमको भव्यतामा कुनै कमी नहोस् भनेर स्टेज, साउण्ड सिस्टम र लाईट काठमाडौंबाटै मगाएका छौं’–उनले भने ।
‘पहिला घरदेश अनि परदेश’ भन्ने मूल मन्त्रका साथ हुने सांगीतिक अभियान नेपालको सातै प्रदेशमा आयोजना गरिने परिषदका अध्यक्ष श्रेष्ठले जानकारी दिए । यो हाम्रो पहिलो कार्यक्रम हो,उनले भने,‘पोखरापछि अन्य प्रदेशका मुख्य सहरहरुमा गएर कार्यक्रम गर्छौं ।’
पोखरासहित समग्र नेपालको पर्यटनमा टेवा पुगोस् भन्ने हेतुले कार्यक्रम गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए । ‘हामी कार्यक्रमको दौरानमा सरोकारवालासँगपनि छलफल गर्छौं, सांगीतिक कार्यक्रम भइरहँदापनि आन्तरिक ठाउँहरुको भ्रमणका लागि अपिल गर्छौं । त्यसपछि परदेशमा गएरपनि घरदेश भ्रमणको निम्तो दिन्छौं ।’
कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठले आफू जहाँ भएपनि देशको मायामा कहिल्यै कमी नआएको बताए । प्राकृतिक सुन्दरताले भरिएको नेपालमा अथाह सम्भावना छ,उनले भने,‘मैले २१ वर्ष बिदेशमा बिताएँ । कयौं देश घुमे । तर नेपाल जत्तिको सुन्दर कहिं पाईन ।’ बैदेशिक रोजगारीपश्चात पछिल्लो आधा दशकदेखि पोखरामै बस्दै आएका श्रेष्ठले आफूले कहिल्यै विदेशिन नचाहेको बताए । मलाई विवेक आउँछ, फेरी जान्छ, कतै अहिलेपनि फेरी बिदेश जाने त होईन भनेर बारम्बार प्रश्न सोधिन्छ,उनले भने,‘म आत्मा साक्षी राखेर भन्न चाहन्छु विवेक कहिल्यै विदेश जान चाहँदैन । मलाई कहिल्यैपनि विदेश जान मन छैन, म कहिल्यै विदेश गएको छु भने त्यतिबेलापनि आत्मा नेपालमानै थियो, शरीर मात्र विदेशमा हो, अहिले पनि विदेश जान चाहन्न, यो उद्घोष नै गर्न चाहन्छु ।’ उनले आफूमात्र नभई कुनैपनि कलाकारलाई बिदेशिन नदिएर यहिं बस्ने वातावरण बनाईदिनपनि आग्रह गरे । उनले भने,‘हामी फुल टाइम म्यूजिकमा लागेको कलाकारलाई फुल टाइम म्यूजिकमा नै लागेर जिउने अवसर दिनुुस्, हामी क्रियटिभिटिमा लागेको मानिसलाई त्यहीं मात्र गर्ने वातावरण बनाइदिनुहोस् । त्यो वातावरण तपाईंहरुले बनाईदिनुहोस् ।’
कन्दरा लाईभ कन्सर्टका लागि साधारण टिकट ३ सय र भिआईपी टिकट १ हजार राखिएको पोखरा पर्यटन परिषदका महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
कन्सर्टमा करीब १० हजार दर्शक आउने अपेक्षा गरेको परिषदका उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए । ‘अहिलेसम्म हेर्दा टार्गेट मिट हुने देखिन्छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज…







