आहा ! रारा गोल्डकप माघ ९ गतेदेखि, दुई विदेशीसहित १२ टीम सहभागि हुने


     एभरेस्ट आवाज    
     पौष २६ गते २०८० मा प्रकाशित




पोखरा, पुस २६

पोखराको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता माघ दोेश्रो सातादेखि हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा हुने आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी माघ ९ गतेदेखि २० गतेसम्म हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा यस वर्ष दुई विदेशी, दुई विभागीयसहित ८ ए डिभिजन क्लव, आयोजक र मोफसलको एक गरेर १२ टीम सहभागि हुने जनाइएको छ । प्रतियोगितामा विभागीय टोलीहरु नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लव तथा ए डिभिजन क्लवहरु जाउलाखेल युथ क्लव, मनाङमस्र्याङ्दी क्लव, थ्रीस्टार क्लव, मच्छिन्द्र क्लव, संकटा क्लव र चर्च व्वाईज युनाइटेड फुटबल क्लव सहभागि हुनेछन् । प्रतियोगितामा आयोजक सहारा र पहिलोपटक मोफसलको राईजिङ स्टार फुटबल क्लव नवलपुरले सहभागिता जनाउने अध्यक्ष बरालले बताए ।

प्रतियोगितामा दुई विदेशी टीमहरु पारो फुटबल क्लव भुटान र दिल्ली फुटबल क्लव भारतपनि सहभागि हुने जनाइएको छ । पारो फुटबल क्लव भुटानको प्रिमियर लिग च्याम्पीयन क्लव भएको आयोजक सहारा क्लवको दाबी छ । त्यस्तै, दिल्ली फुटबल क्लव भारतको सर्बाधिक ठूलो प्रतियोगिता आईलिग खेलिरहेको क्लव भएको क्लवका अध्यक्ष बरालले जानकारी दिए । उनका अनुसार दिल्ली एफसी अहिले आईलिगको सत्रौं स्थानमा रहेर उपाधि दौडमा छ । यस पटक दर्शकको मनोभावना बुझेर बलियो टिम ल्याएका छौं,उनले भने,‘आशा छ दुबै टीमले सशक्त खेल प्रदर्शन गरेर दर्शकको मत जित्नेछन् ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको राशी यस पटक यथावत राखिएको छ । निरन्तर राशी बृद्धि गर्दै आएको सहाराले यस पटक अघिल्लो वर्षजस्तै बिजेतालाई नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने जनाएको छ । त्यस्तै, उपबिजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट पाँच विधा र हरेक दिनको म्यान अफ दी म्याच ट्रफी र नगद पुरस्कार सहारा युकेले प्रायोजन गर्ने जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड ४९ लाख ३ हजार लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताबाट १ करोड ८६ लाख ७५ हजार आम्दानी गरेर ३७ लाख ७२ हजार बचत गर्ने लक्ष्य लिइएको महासचिव अधिकारीले बताए ।

२०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु भएको प्रतियोगिताको यस वर्षको संस्करणलाई पनि हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! र रारा चाउचाउले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीमा खर्च गरिने जनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल ८ जिल्लाका १४ जना असहायः बालकहरु आश्रित छन् । उनीहरुलाई शिक्षा, दीक्षा, खेलकुद प्रशिक्षणलगायत निःशुल्क रुपमा गरिदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।