पोखरालाई फागुन पहिलो साताभित्र पर्यटकीय राजधानी घोषणा गरिसक्न प्रदेश सरकारलाई समितिको सुझाव


     एभरेस्ट आवाज    
     पौष २६ गते २०८० मा प्रकाशित




पोखरा, पुस २६

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न बनेको अध्ययन समितिले पोखरालाई फागुन पहिलो हप्ताभित्र पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको छ । गण्डकी प्रदेश सरकारले बनाएको सो अध्ययन समितिले विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाएको प्रतिवेदनमा समयसीमा तोकेर काम गर्न सुझाउँदै फागुन पहिलो हप्तामा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको हो । पर्यटनको राजधानी बनाउन आवश्यक न्यूनतम आधारहरुलाई केलाएको समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणा अघि माघ महिनाभित्रमा पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाहरुको छलफल र बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गर्न र गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गर्न समितिले सिफारिस गरेको छ । त्यस्तै पोखरा महानगरपालिका र यस आसपासका स्थानिय तहहरुले पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गर्नपनि प्रतिवेदनमा भनिएको छ । महानगरले भने मंसिर १६ गते नै पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको छ । यसरी आएको निर्णयका आधारमा गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठकले पोखरालाई पर्यटकीय राजधानी बनाउने निर्णय गर्न समितिले सुझाएको छ । प्रदेश सरकारको सो निर्णयलगत्तै सरोकारवाला तथा सर्वसाधारणहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम गरेर पोखरालाई प्रदेशको राजधानी घोषणा गर्न प्रतिवेदनले सुझाएको पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न बनेको अध्ययन समितिका संयोजक एवम् प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले जानकारी दिए ।

समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव दिएको छ । समितिले बुझाएको प्रतिवेदनमा २ वर्ष भित्रमा गरिने कामलाई अल्पकालीन, ५ वर्षसम्ममा गरिनुपर्ने कामलाई मध्यमकालीन र त्यसभन्दा बढी समय लगाएर गरिने कामलाई दीर्घकालीन योजनामा राखेर काम गर्न सुझाव दिएको हो । जस अन्तर्गत अल्पकालीनमा निर्माणाधीन सडकलाई पूर्णता दिने, पर्यावरणमैत्री विकल्पसहित फेवालगायतका तालहरुमा हुने बोटिङको संख्या बढाउने तथा गुणस्तरीय बनाउन, फेवाताल वरीपरी पैदल मार्ग निर्माणलाई पूर्णता दिन, हरित क्षेत्र तथा पार्कको व्यवस्था गर्न, विलाशीयुक्त तथा मितव्ययीय सबै खालका पर्यटकका लागि बसोबास गर्नसक्ने खालको बसोबासको व्यवस्था गर्न सुझाएको छ ।

मध्यमकालीनमा पर्यटनलाई विशिष्टिकरण गर्न र बसोबासको विविधिकरण गर्न तथा दक्ष जनशक्तिको विकास गर्न समितिले सुझाएको छ । ‘यसका लागि हामीले होम–स्टे, टु–स्टार, थ्री–स्टार, फोर–स्टार, फाइभ–स्टार, सेभेन–स्टार गरेर बसोबासमा विविधिकरण गर्न भनेका छौं । व्यवसायीक जनशक्ति उत्पादन, टुरिजम हस्पिटालिटीलाई अहिलेको समयसापेक्ष बनाउन व्यवसायीक जनशक्ति बनाउनुपनि सुझाव दिएका छौं’–उनले भने । त्यस्तै स्मार्ट प्रविधिको प्रयोगले पर्यटकको हिसाब राख्ने, उनीहरुको निगरानी गर्ने वातावरण बनाउन प्रतिवेदनमा सुझाइएको छ भने यी सबै कार्य गर्नका लागि क्षेत्रीय सहयोग जुटाउनका लागिपनि सुझाव दिइएको छ । प्रतिवेदनमा दीर्घकालमा निरन्तर पर्यटक आईराख्ने वातावरण बनाउन सुझाव दिइएको छ । जसका लागि पर्यटनको दीगोपन र समावेशीतालाई जोड दिन सुझाव दिइएको उनले बताए ।

समितिले पोखरालाई पर्यटकीय राजधानी बनाउनका लागि २० वटा पूवाधारको पहिचान गरेको छ । जस अन्तर्गत पर्यटकलाई आकर्षित गर्ने खालको प्राकृतिक र भौतिक गन्तव्यहरुको पहिचान, संरक्षण र सम्बद्र्धन गर्न भनेको छ । समितिले बुझाएको प्रतिवेदनमा सांस्कृतिक आकर्षण, साहसिक र मनोरञ्जनात्मक, यातायात पहुँचमा अभिबृद्धि गर्न भनिएको छ ।

समितिले पर्यटकीय सुविधाहरु थप्न भन्दै त्यसका लागि पर्यटकीय गतिविधिहरु ब्ृद्धि गर्न, सेवा प्रदायकहरुको अवस्थामा सुधार, कानूनी संरचना, सार्वजनिक सुरक्षाको प्रत्याभूति गर्ने वातावरण बनाउन सुझाव दिएको छ । त्यस्तै, अन्र्तराष्ट्रिय स्तरको सहर, सभा सम्मेलन केन्द्रको अवस्था, स्याटलाईट सहरको विकास, नवप्रवर्तन विकास र सौन्दर्यकरण, रैथाने परिकार, मेला, महोत्सवको प्रवद्र्धनसँगै बजारीकरणमा लाग्नुपर्ने औंल्याएको छ ।

समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछिको फाईदाका बारेमापनि अपेक्षित प्रभाव भनेर विश्लेषण गरेको छ । राजधानी घोषणा गर्ने वित्तिकै जनताको जीवनस्तर उकासिने वा ह्वात्तै पर्यटक बढ्ने भन्ने होईन,समितिका संयोजक डा.देवकोटाले भने,‘पर्यटनको राजधानी घोषणापछि पोखराको ब्राण्डिङमा सघाउँछ, तीनै तहको सरकारले बनाउने योजनामा पहिलो प्राथमिकता पाउँछ, अनि पोखराको बजारीकरण र प्रवद्र्धनमापनि सघाउँछ ।’ यसले पर्यटन व्यवसायी तथा स्थानियमा उत्साह छाउने र पर्यटनमा लगानीमैत्री वातावरण निर्माण हुने उनको दाबी छ ।

समितिले राजधानी घोषणासँगै पर्यटकलाई आकर्षित गर्नका लागि फिर्केखोला करिडोर निर्माण, सेती नदी करिडोर निर्माण, बेगनास फेवाताल साईकल पथ निर्माण, आरोग्यधाम निर्माण, पञ्चासे जैविक विविधता संरक्षण तथा प्रवद्र्धन, बोटानिकल गार्डेन, पार्क निर्माण, गुणस्तरीय सडक स्तरोन्नती तथा सडक सञ्जाल बिस्तारका कामहरु । नया पदमार्गहरुको पहिचान, संरक्षण र प्रवद्र्धन गर्नपनि सुझाएको छ । समितिले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको व्यवसायीक उडान, त्यहाँबाट सार्वजनिक सटल बसहरु सञ्चालन गर्न, प्रदुषण कम गर्न विद्युतीय गाडीको प्रोत्साहन, सडकापेक्षीमुक्त सडक बनाउन, पोखराका पर्यटकीय गन्तव्यहरुको नाम र ठाउँबारे नेपाली र अंग्रेजी दुबै भाषामा डकुमेन्ट्री बनाउन तथा पोखरालाई छाडा चौपाया मुक्त बनाउनपनि सुझाव दिएको उनले जानकारी दिए ।

दिइएका सुझावहरु कार्यान्वयनका लागि समितिले गण्डकी प्रदेश सरकार पोखरा महानगरपालिकालाई सहकार्य र समन्वय गर्न भनेको छ । संयोजक डा.देवकोटाले भने,‘प्रदेश र महानगरको आवश्यक्ता अनुसार छलफलबाट कार्यविभाजन गरेर काम गर्नुपर्नेछ । कुनैकुनै काम साझेदारीमापनि गर्न भनेका छौं ।’

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समितिको प्रतिवेदनमा उल्लेख भएको समयसीमामा रहेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । पोखरा पर्यटकीय राजधानी नै हो,उनले भने,‘यसलाई हामीले औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा नगरेको मात्रै हो वा घोषणा गर्न नसकेको अवस्था थियो । तर अब औपचारिक रुपमै घोषणा गर्छौं ।’ उनले प्रतिवेदन कार्यान्वयनका लागि पोखरा महानगरपालिका, पर्यटन सम्बद्ध संघसंस्था तथा वरीपरीका पालिकाहरुसँग सहकार्य गर्ने बताए ।

डा.देवकोटाको अध्यक्षतामा ११ सदस्यीय अध्ययन समिति रहेको थियो । समितिले झण्डै डेढ महिना लगाएर प्रतिवेदन तयार पारेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।