माघ २ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिएका छन् ।
होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले भने, “होटल आफैँले कृषि फार्म सञ्चालन गरेर वा कृषकले सञ्चालन गरेका फार्मसँग सम्झौता गरी कृषिउपजलाई सिधै होटलका प्लेटमा पु¥याउने कार्यक्रम सञ्चालन गर्नुस् ।”
राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए । उनले भने,“सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु ।”
उनले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका काम भइरहेको र अगाडि बढिरहेको स्पष्ट पारे । राष्ट्रपति पौडेलले पर्यटनलाई आयआर्जन र समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







