राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश


     एभरेस्ट आवाज    
     माघ ९ गते २०८० मा प्रकाशित




माघ ९ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता पोखरेलले उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत सङ्ख्या १४ हजार दुईसय ८९ रहेकामा दुई हजार नौ सय १४ थान फछ्र्योट भएको प्रतिवेदनमा उल्लेख छ । फछ्र्योट भएका मुद्दामा सरकारी पक्षको सफलता ४१ दशमलव २८ प्रतिशत रहेको उल्लेख छ ।

उच्च सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत सङ्ख्या २९ हजार तीन सय २२ रहेकामा १७ हजार चारसय १२ थान फछ्र्योट भएका छन् । फछ्र्योट भएका मुद्दाको सफलता ५३ दशमलव ५८ प्रतिशत रहेको छ ।

विशेष सरकारी वकिल कार्यालय, काठमाडौँबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा तथा निवेदनको लगत सङ्ख्या दश हजार २३ रहेकामा पाँच थान १२ थान फछ्र्योट भएको जनाउँदै फछ्र्योट भएका मुद्दाको सफलता ८३ दशमलव ६८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको जम्मा लगत सङ्ख्या ७२ हजार एक लाख ९६ रहेकामा ३६ हजार सात सय तीन थान फछ्र्योट भएको छ । फछ्र्योट भएका मुद्दामा सफलता प्रतिशत ७६ दशमलव ८४ रहेको छ । समग्रमा सरकारवादी मुद्दा रिट र निवेदनमा ६९ दशमलव १९ प्रतिशत सफलता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ ।

महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको सङ्ख्या एक लाख २५ हजार आठ सय ३० रहेको छ । यो अघिल्लो आवको भन्दा १३ दशमलव ३२ प्रतिशतले बढी हो ।

सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएका मुद्दाको लगत सङ्ख्या एक लाख सात हजार नौ सय आठ रहेको प्रतिवेदनमा उल्लेख छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।