आइसिसी यु–१९ विश्वकप क्रिकेट : अफगानिस्तानसँग जित निकाल्दै नेपाल दोस्रो चरणमा


     एभरेस्ट आवाज    
     माघ १२ गते २०८० मा प्रकाशित




माघ १२ काठमाण्डौं । अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो ।

दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले एक सय ४६ रनको विजयी लक्ष्य ४४ दशमलव चार ओभरमा नौ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ७३ बल खेल्ने क्रममा सात चौकाको मद्दतमा ५८ रन बनाए । यस्तै दिपक बोहराले २७, आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १० तथा सुवाश भण्डारीले अविजित नौ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका फरिदुन दाउदजाइले तीन, खलिल अहमद र नासिर खानले दुई दुई तथा अल्लाह मोहम्मद घजानफार र अरब गुलले एक एक विकेट लिए ।

यस्तै अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा अल्लाह मोहम्मद घजानफारले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए । त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मद्दतमा ३१ रन बनाए । फरिदुन दाउदजाइले २९ तथा हसन इसाखिलले २० रन बनाए ।

बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भए । यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए ।

नेपालले अब समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरिसकेको भारत तथा सो समूहबाट सुपर सिक्समा प्रवेश गर्ने अन्य दुई देशका टोलीसित दोस्रो चरणको खेल खेल्ने छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।