पोखरा, माघ १६
पोखराका एक वडाध्यक्षले बाँदर धपाउन रुख काट्ने अभियान सञ्चालनका लागि अपिल गर्दै सूचना जारी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर धपाउन ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्न वडाबासीमा अपिल गरेका छन् ।

पोखरा–१९ को पुरुञ्चौर बाँदरबाट अति प्रभावित क्षेत्र हो । बाँदरले लगाएको फलफूललगायतका खाद्यान्न सखाप पार्नुका साथै स्थानियलाई आक्रमण गरेर घाईते तथा आतंकित बनाउने गरेका छन् । सोहि कारण स्थानियले बाँदर नियन्त्रणका लागि स्थानिय, प्रदेश र संघ सरकार गुहार्ने गरेका छन् । यसैलाई आधार बनाएर वडाध्यक्ष पाण्डेले यहि माघ १५ गते बाँदर नियन्त्रणका लागि भन्दै जारी गरेको सूचनामा भनिएको छ,‘दश दिन भित्र “मेरो रुख म काट्छु” अभियान सञ्चालन गरी आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरि बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउनका लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ ।’

बाँदर धपाउन रुख काट्ने अभियान सञ्चालन आफूले गण्डकी प्रदेश सरकारको नीति अनुसार नै गरेको उनले दाबी गरेका छन् । उनका अनुसार बाँदर नियन्त्रणका लागि रुख काट्न पाईने नीति गण्डकी सरकारले अख्तियार गरेको छ । ‘प्रदेश सरकारले आ.व.०८०÷८१ को नीति तथा कार्यक्रममासमेत बाँदर नियन्त्रण सम्बन्धि नीति पास गरेको हुँदा रुख कटान गरि प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउनुका साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउनका लागि यो सूचना प्रकाशित गरिन्छ’–सूचनामा भनिएको छ ।
वडाध्यक्ष पाण्डेले वनजंगल बढी भएका कारण बाँदरले दुःख दिएकाले त्यसलाई नियन्त्रणका लागि रुख काट्ने अभियान सञ्चालनका लागि सूचना जारी गरिएको बताए । तर जथाभावी रुख काट्न नदिइने उनको दाबी छ । उनले भने,‘आफ्नो नीजि सम्पतीमा भएको रुख काट्न मात्र भनेका हौं । भएभरको सबै रुख काट्न भनेको होईन ।’ सूचनामा भने यसबारे प्रष्ट खुलाइएको छैन ।
वडाध्यक्षले यो सूचना जारी गरेको थाहा पाएपछि पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले भने रुख काट्ने वा फाँड्ने अभियान सञ्चालन नगर्न अपिल गरेका छन् । वडाध्यक्ष पाण्डेले निकालेको सूचनाको खण्डन गर्दै उनले भनेका छन्,‘रुख काट्ने, फाँड्ने अभियान सञ्चालन नगर्नु नगराउनु हुन सम्बन्धित सम्बन्धित सबैमा जानकारी गराईसकिएको छ । भ्रममा नपर्नुहुन अनुरोध छ ।’ मेयर आचार्यले बाँदर धपाउनेका लागि रुख काट्न पाईने निर्णय महानगरपालिकाबाट नभएको स्पष्ट पारेका छन् । वडाध्यक्षको सूचनाले सर्वसाधारणलाई भ्रमित पारेको भन्दै उनले भनेका छन्,‘आफ्नो रुख आफै काटौं भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानिय सरकार सञ्चालन ऐन वमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएको जानकारी गराउँछौं ।’
यसैबीच महानगरपालिकाले वडाले जारी गरेको सूचना र अभियान दुबै रद्ध गर्न निर्देशन दिएको छ । महानगरपालिकाका बरिष्ठ कानून् अधिकृत नारायणप्रसाद शर्माले मंगलबार एक सूचना जारी गर्दै भनेका छन्,‘प्रस्तुत विषयमा त्यहाँ वडा कार्यालयबाट मिति २०८०÷१०÷१५ मा प्रकिाशित भएको रुख काट्ने सम्बन्धि सार्वजनिक सूचना प्रकाशन भएको देखियो । उक्त सूचना अविलम्व रद्ध गरि रुख कटान गर्ने कार्य बन्द गर्नुहुन अनुरोध गरिन्छ ।’
जिल्ला वन कार्यालय कास्कीका प्रमुख पूर्णेश्वर सुवेदीले वडाध्यक्षले जारी गरेको सूचना उर्दी जारी गरेजस्तो भएको टिप्पणी गरे । उहाँले कुन कार्यविधिमा टेकेर रुख काट्न आह्वान गर्नु भएको हो मलाई थाहा भएन,उनले भने,‘घरायासी प्रयोजनका लागि, घाँस दाउराका लागि रुख काट्न पाईन्छ । तर त्यो रुख काट्नका लागि महानगरपालिका वा जिल्ला डिभिजन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । अन्यथा भोलि काटिएको रुखको काठ, दाउरा ओसारपसार गर्नेबेला समस्या आउँछ, त्यसका लागिपनि अनुमति अनिवार्य चाहिन्छ ।’ वडाले
गण्डकी प्रदेश, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन महाशाखा प्रमुख केदार बरालपनि प्रक्रिया पूरा नगरी रुख काट्न नपाइने बताउँछन् । उनका अनुसार रुख काट्न अनुमति लिनुपर्ने हुन्छ । व्यक्तिले आफ्नो जग्गामा भएको रुख काट्नलाई वन ऐनले खुल्ला गरेको छ,उनले भने,‘तर त्यसका लागि डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयबाट अनुमति लिनुपर्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





