माघ १६ जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा निराशामात्रै छ भन्ने भाष्य निर्माण गर्न खोजिए पनि यही व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा रहेको बताएका छन् ।
समुदायमा कांग्रेस अभियानका क्रममा धनुषाका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भई काठमाडौँ फर्किनेक्रममा आज जनकपुरधाम विमानस्थलमा महामन्त्री थापाले स्थानीय आवश्यकताअनुसार फरकफरक माग रहे पनि व्यवस्थाका विषयमा हल्ला गरिएजस्तो अवस्था नरहेको बताए । उनले सरकार र पार्टीले जनतासामु गरेका वाचा पूरा गर्न थप उत्तरदायी हुनुपर्ने बेला निराशाका कुरा मात्रै गर्न नहुने बताए ।
“समुदायमा कांग्रेस अभियान भर्खरै सुरु भएको छ । म झापाबाट जनकपुर पुग्दासम्म स्थानीय आवश्यकताअनुसार फरकफरक माग र मुद्दा छन् र अहिलेको व्यवस्थाका विषयमा जताततै निराशा र अँध्यारो मात्रै छ भन्ने गरिएजस्तो छैन”, महामन्त्री थापाले भने, “यही व्यवस्थालाई सुधार गर्दै दलहरुले हिजोका दिनमा गरेका वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छ । त्यसैले ती अपेक्षा सम्बोधन गर्न लाग्नुपर्ने आवश्यकता महसुस भएको छ ।”
उनले व्यवस्थाको चिन्ता गर्नेभन्दा जनताका तत्कालीन र दीर्घकालीन समस्या सम्बोधनमा केन्द्रित हुन पनि सरकार र पार्टीलाई आग्रह गरे । उनले भने, “जाजरकोट भूकम्प, झापामा हात्ती आतङ्क, धनुषा र सिरहामा कमला नदीमाथि बन्दै गरेको पुलको दुर्दशा, मधेसका युवामा लागुऔषध दुव्यर्सनीको समस्याजस्ता थुप्रै मुद्दा छन् । अहिले माघको चिसोमा ती विषयमा चिन्ता गर्नुपर्ने हो । त्यसैले सरकारलाई अरु विषयमा नअल्झेर जनताका मुद्दामा केन्द्रित हुन म विशेष आग्रह गर्दछु ।”
अभियानका क्रममा माघ १३ गते पूर्व झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेका महामन्त्री थापा माघ २६ गते पश्चिम कञ्चनपुर पुग्ने कार्यक्रम छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली सङ्घको उडान…





