पोखरा, माघ १७
बाँदर नियन्त्रण गर्ने भन्दै रुख काट्ने अभियान चलाउने पोखरा महानगरपालिका वडा नम्बर–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जालझेल गरेको खुलेको छ । बाँदर नियन्त्रणका लागि “मेरो रुख म काट्छु” अभियान चलाएका वडाध्यक्ष पाण्डेले सूचना निकाल्नु अघि नै स्थानियलाई रुख काट्न लगाएको तथ्य बाहिरिएको हो । वडाध्यक्ष पाण्डेले बाँदर नियन्त्रणका लागि सो अभियान सञ्चालन गर्ने भन्दै १० दिन भित्र घर वरपरका रुख काट्न सार्वजनिक सूचना निकालेका थिए ।
वडाले रुख काट्ने अभियान सञ्चालनका लागि सूचना निकालेपछि त्यसबिरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । त्यसलगत्तै पोखरा महानगरपालिकाले रुख काट्ने अभियान रद्ध गर्न निर्देशन दिएको थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रुख काट्ने नीति महानगरको नभएको भन्दै कोहिपनि भ्रममा नपर्न आग्रहसहित रुख काट्ने अभियान सञ्चालन नगर्न, नगराउन भन्दै सूचना जारी गरे ।
तर वडाले रुख काट्ने अभियान सञ्चालन गर्न र महानगरले सञ्चालन नगर्न भनेर निकालेको सूचना बेकाम भएको छ । किनकी सूचना निकाल्नु अघि नै स्थानियले रुख काटिसकेका छन् । वडाले रुख काट्ने अभियान सञ्चालनका लागि माघ १५ गते र अभियान सञ्चालन नगर्न महानगरले माघ १६ गते सूचना निकालेको थियो । तर त्यसको एक हप्ता अघि नै रुख काटिसकेको तथ्य सार्वजनिक भएको छ ।

स्थानियका अनुसार वडाले सूचना निकाल्नु एक हप्ताअघि स्थानिय स्तरमा गठन भएको बाँदर नियन्त्रण कार्यक्रमको पहलमा छलफल भएको थियो । सो छलफलमा वडाध्यक्ष पाण्डेले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान चलाउने बताएका थिए । त्यसका लागि वडाले सूचना जारी गर्ने भन्दै तत्काल रुख काट्न स्थानियलाई आग्रह गरेका थिए । वडाध्यक्ष पाण्डेको भनाई उद्धृत गर्दै एक स्थानियले भने,‘बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान सञ्चालन गर्नुपर्छ । त्यसको वातावरण म मिलाउँछु । तपाईंहरु अहिलेदेखि नै त्यसतर्फ लाग्नूस् ।’ त्यसबेला स्थानियले भोलि कानूनी झञ्झटमा फसिन्छ कि भनेर आशंकित प्रश्न गरेका थिए । त्यसलाई सम्बोधन गर्दै वडाध्यक्ष पाण्डेले भनेका थिए,‘तत्काल सूचना निकालिन्छ । तपाईंहरुलाई कुनै समस्या पर्दैन ।’
वडाध्यक्ष पाण्डेको प्रतिबद्धतापछि स्थानियले रुख काट्न शुरु गरे । बाँदरका कारण हत्तुहैरान भएका स्थानिय वन ऐनका कारण रुख काट्न नपाईने हो कि भन्ने चिन्तामा थिए । तर वडाध्यक्षले नै रुख काट्न मौखिक सहमति दिएको र सूचना निकालेर नै वैधानिक बनाउने आश्वासन दिएपछि स्थानियले घर वरपरका रुख काटे । हामीलाई रुख काट्न नदिने हुन् कि भन्ने थियो,एक स्थानियले नाम नबताउने शर्तमा भने,‘वडाध्यक्षले नै जिम्मा लिन्छु भनेपछि हामीले रुख काट्यौं ।’ उनका अनुसार अहिले पोखरा–१९ घार्मी साईडका अधिकांशले रुख काटिसकेका छन् । ‘अब बाँकी भनेको गाउँ छाडेर सहर झरेका र घरमा लोग्ने मान्छे नभएकाहरुको मात्र छ’–उनले थपे ।
बाँदर नियन्त्रण कार्यक्रमकी संयोजक तथा स्थानियबासी लीला पौडेलले रुख काट्ने सहमति भएपछि घर वरपरका रुख काटेको स्वीकार्छिन् । रुख काटेको भनेर वन नै मासेका त होईनौं,उनले भनिन्,‘बाँदरका कारण घर वरपरका फलफूल खानै पाइएन । त्यसैले बाँदर नियन्त्रणका लागि रुख काटेका हौं ।’
वन ऐन अनुसार रुख काट्नुअघि स्थानिय तह वा डिभिजन वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ । तर वडाध्यक्ष पाण्डेले स्थानियलाई प्रक्रिया नपु¥याई रुख काट्न लगाएको पाइएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख पूर्णेश्वर सुवेदीले अनुमति नलिई रुख काट्दा झमेला हुनसक्ने बताउँछन् । काटेको रुख ओसारपसार गर्दा समस्या पर्न सक्छ,उनले भने,‘यदि अनुमति नलिई रुख काटेको रहेछ भने त्यसबेला वन ऐन आकर्षित हुनसक्छ ।’
रुख काट्ने अभियान सञ्चालन गरेका पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे व्यक्तिको नीजि जमिनमा रहेको रुख काट्न पाउनु उसको अधिकार भएको बताउँछन् । बाँदरले आक्रान्त स्थानियलाई राहत होस् भनेर रुख काट्ने अभियान सञ्चालन गर्न खोजिएको हो,उनले भने,‘तर यहाँ वन नै मासेजसरी प्रचारबाजी गरिएको छ ।’ उनका अनुसार स्थानियले पहिलेदेखि नै रुख काट्दै आएका थिए । तर घर छाडेर सहर पसेका वा घरमा काम गर्ने मान्छे नभएकाहरुले रुख नकाट्दा बाँदरको आतंक रोकिएन,उनले भने,‘त्यसैले ती नकाटिएका रुखपनि काट्नका लागि प्रेरित गर्न सूचना निकालिएको हो ।’ उनले काटिएका रुखका काठ, दाउरा ओसारपसार गर्ने व्यवस्था जसरीपनि मिलाउने दाबी गरे । अहिले महानगरले सामाजिक सञ्जालमा उर्लिएको भिडको कुरा सुनेर रुख काट्ने अभियान रद्ध गर्न भनेको जिकीर गर्दै उनले अगाडि थपे,‘अभियान सफल बनाउने र काटिएका रुखका काठ,दाउरा ओसारपसार गर्ने व्यवस्था जसरीपनि मिलाउँछु ।’
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने रुख काटिसकेको बारे अनभिज्ञता प्रकट गरे । खै यसबारे जानकारी भएन,उनले भने,‘सूचना निकाल्नेवित्तिकै खारेज गर्न भनेका छौं । त्यसरी पहिल्यै काटिसकेको त मेरो जानकारीमा छैन ।’ उनले प्रक्रिया नपु¥याई रुख काट्ने र काट्न लगाउनेलाई के गर्ने भन्नेबारे छलफल गरेपछि मात्रै बताउनसक्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







