संसद्मा सशक्त भूमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन


     एभरेस्ट आवाज    
     माघ २१ गते २०८० मा प्रकाशित




फाइल तस्विर

माघ २१ काठमाण्डौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उहाँले सांसदलाई संसद् र संसदीय समितिका बैठकमा सक्रियतापूर्वक भाग लिन र जनताका पक्षमा आवाज उठाउन निर्देशन दिए । अध्यक्ष ओलीले सांंसदलाई वैचारिक कुरामा पनि बढी स्पष्टताको आवश्यकता पर्ने र प्राविधिक कुरा सिक्नका लागि बैठक आवश्यक हुने बताए ।

यसैबीच, एमाले सचेतक महेश बर्तौलाले दुई दिनसम्म चलेको बैठकले चारवटा निर्णय गरेको बताए । बैठकले संसद्लाई प्रभावकारी बनाउन सशक्त भूमिका निर्वाह गर्ने निर्णय गर्नाका साथै कानुन निर्माणलाई गति दिन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारलाई निरन्तर घच्घच्याउने निर्णय गरेको छ ।

यसैगरी, युवा पलायनका रोक्नका लागि सरकारले उपयुक्त नीति तथा कार्यक्रम ल्याउनका लागि दबाब दिने र एमालेले सबै सांसदलाई संसद्को बैठक र संसदीय बैठक चलेको बेला संसद्मा बसेर विषयवस्तुलाई उठाउने निर्णय गरेको छ ।

एमालेले विकास, समृद्धि, सुशासन, सामाजिक न्याय र राष्ट्रिय सराकोर र जनसरोकारका विषयलाई संसद्बाट सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ । दुई दिनसम्म चलेको बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेल, रमेश वडाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, पूर्वमन्त्री अग्निप्रसाद खरेलले समसमायिक विषयमा सांसदलाई प्रशिक्षण दिएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।