क्यानडाविरुद्धको एक दिवसीय अन्तराष्ट्रिय श्रृङखलामा नेपाल एक खेलअघिनै विजयी


     एभरेस्ट आवाज    
     माघ २७ गते २०८० मा प्रकाशित




माघ २७ काठमाण्डौं । नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेल चार विकेटले जित्दै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो । क्यानडाले नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त विजयी लक्ष्य ४५ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका तीन खेलाडीले अर्धशतकीय पारी खेले । कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८७ रन बनाए । उनले एक सय एक बल खेल्ने क्रममा चार छक्का र आठ चौका प्रहार गरे । यस्तै देव खनालले ८१ बलमा ७६ रन बनाए । उनले त्यसक्रममा दुई छक्का र सात चौका हाने भने अनिलकुमार साहले तीन छक्का र सात चौकासहित ५० रनको योगदान दिए । भीम सार्कीले २३, पवन शर्राफले १४ र आशिफ शेखले १० रन बनाए ।

बलिङतर्फ क्यानडाका हर्ष थाकर र ईश्वरजोत सोहीले दुई–दुई तथा शाद विन जाफर र दिलप्रित बज्वाले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ८५ रनको योगफल बनायो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्का हाने । यस्तै नवनित धलिवालले ४६, श्रेयश मोभ्वाले ४०, पर्गत सिंहले ३८, निकोलस कीर्तनले २०, उदय भगवान्ले २०, दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाईले १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि रोहितकुमार पौडेल र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक सात रनको जित हासिल गरेको थियो । नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो । रासस
–––


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।