‘योजना हराए गोरखा जानू भन्ने भाष्य निर्माण भयो’


     एभरेस्ट आवाज    
     माघ २८ गते २०८० मा प्रकाशित




पोखरा, माघ २८

गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले योजना हराए खोज्नका लागि गोरखा जानू भन्ने स्थापित भएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले दोश्रो पञ्चवर्षीय योजनाबारे आइतबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हाम्रो देशमा न्याय नपाए गोरखा जानू भन्ने स्थापित मान्यता थियो,उनले भने,‘तर अहिले त योजना हराए गोरखा जानू भन्ने भएको छ ।’

देशको प्रधानमन्त्री, गृहमन्त्री, गण्डकी प्रदेशको मुख्यमन्त्री देखि योजना आयोगका उपाध्यक्षपनि त्यहिंको भएकालेपनि त्यसो भनिएको उनको भनाई छ । ‘हुँदा हुँदा कर्मचारीपनि कहिं न कहिं गोरखाकै हुने गरेकालेपनि यस्तो भाष्य बनेको छ’–उनले भने । त्यसलाई चिरेर प्राथमिकीकरणका आधारमा समावेशी योजना छनौट गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष ओझाले गण्डकी प्रदेशमा बाँदर नियन्त्रण मात्र गर्न सकेपनि अहिलेको उत्पादन दश गुणा बढाउन सकिने दाबी गरे । ‘त्यसका लागि मानव–वन्यजन्तु (बाँदरलगायत)सँगको द्वन्द्व व्यवस्थापन गरौं’–उनले भने । उनले कोदोको लोकल रक्सीलाई लेबलिङ र ब्राण्डिङ गरेरपनि समृद्धिको आधार तयार गर्न सकिने उनको भनाई छ ।

साथै उनले उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र विदेश जानबाट युवालाई रोक्ने हो भने देशले कोल्टो फेर्नेसमेत दाबी गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।