पोखरा, फागुन २
माया जोसँगपनि हुनसक्छ । आमाबुबा र छोराछोरी बीच, दाजुभाई र दिदीबहिनीबीच, श्रीमान र श्रीमतीबीच अनि गर्लफ्रेण्ड र ब्वायफ्रेण्डबीच । उसो त माया गर्न रगतको साईनो नै चाहिँदैन । नत माया गर्नका लागि गर्लफ्रेण्ड र ब्वायफ्रेण्ड नै हुनुपर्छ । माया गुरु र चेलाबीचपनि हुनसक्छ । हो, यस्तै माया अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कुरा पोखरा–१६ बाटुलेचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थी र अध्यापनरत शिक्षक अर्थात शिक्षक र विद्यार्थी बीचको हो । गत शुक्रबार सो विद्यालयमा भौतिक शास्त्र पढाउने शिक्षक सुजन लम्साललाई समन गुरुङ भन्ने विद्यार्थीले कक्षा कोठामा विद्यार्थीहरुबीच कुटाकुट गरिरहेको खबर सुनाए । विद्यार्थीलाई माया गर्ने र सँधै साथीको व्यवहार गर्ने भएकाले उनी विद्यार्थीहरुबीच प्रिय थिए । त्यसैले उनी झगडा छुट्याउन भनेर कक्षा कोठातिर दौडिए । नभन्दै विद्यार्थीहरु झुम्म भएर बसेको हुल देखे । जहाँ झगडा गरेजस्तो हुल थियो । आफ्ना विद्यार्थी झगडा गरेको सुनेर आत्तिदै पुगेका लम्साल विद्यार्थीलाई आत्तिदै हटाउँदै बिचमा पुग्छन् । जब उनी विद्यार्थीको हुल बिचमा पुग्छन् तब त्यहाँ रहेका एक विद्यार्थीले सम्पूर्ण विद्यार्थीको तर्फबाट फूलको गुच्छा दिदै ‘ह्याप्पी बर्थ डे सर’ भन्छन् । त्यसपछि त्यहाँ रहेका सबै विद्यार्थीले एकै स्वरमा ‘ह्याप्पी बर्थ डे सर’ भनेर दोहो¥याउँछन् ।
झगडा छुट्याउन भनेर पुगेका शिक्षक लम्साल जब विद्यार्थीहरुले आफ्नो बर्थ डे सरप्राइज रुपमा मनाउन बोलाएको थाहा पाउँछन् तब उनी भावुक र निःशब्द हुन्छन् । झगडा छुट्याउन हस्याङफस्याङ गर्दै पुगेका उनी शुरुमा त अलमलमा पर्छन् । तर सबै विद्यार्थीले एक स्वरमा जन्म दिनको शुभकामना दिएपछि भने भावुक हुन पुग्छन् र पालैपालो विद्यार्थीलाई अंकमाल गर्दै धन्यवाद ज्ञापन गर्छन् । हो, यहि भिडियो अहिले सामाजिक सञ्जाल ईन्ष्ट्राग्राममा भाइरल बनिरहेको छ । जुन भिडियो मंगलबार विहानसम्ममा ३ करोड बढीले हेरिसकेका छन् ।
शिक्षक लम्सालको बर्थ डे मितिले शनिबार थियो । तर शनिबार विद्यालय बन्द हुने भएपछि विद्यार्थीले शुक्रबार नै शिक्षक लम्सालको बर्थ डे मनाउने योजना बनाए । जसको चाँजोपाँजो विद्यार्थीहरु स्वयम्ले गरे । बर्थ डे सेलेब्रेसन मात्रै होईन, त्यसको भिडियोसमेत खिच्ने प्रबन्धसमेत गरेका थिए विद्यार्थीले । त्यहि भिडियो शनिबार ईन्ष्ट्राग्राममा अपलोड गरिएको थियो ।
शिक्षक लम्साल सँधै विद्यार्थीलाई माया गर्थे । उनी हरेक विद्यार्थीको ख्याल गर्थे । विद्यार्थीलाई साथी सरह व्यवहार गर्ने उनी विद्यार्थीको बर्थ डेमापनि सहभागी हुन्थे । बर्थ डे शुभकामना मात्रै दिदैनथे उनी । बरु विद्यार्थीसँगै गीत गाउने, नाच्ने अनि रमाइलोपनि सँगसँगै गर्थे । जसका कारण उनी विद्यार्थीबीच प्रिय थिए ।
विद्यार्थीको जन्म दिन मनाउने शिक्षक लम्साललाई यस पटक भने विद्यार्थीले सरप्राइज बर्थ डे मनाईदिए । जसका लागि विद्यार्थीहरु झगडाको नाटकसमेत गर्न तयार भए । बर्थ डे सेलेब्रेसनसँगै आफूहरुले शिक्षक लम्सालप्रति कृज्ञता ज्ञापन गरेको बर्थ डेमा सहभागी विद्यार्थी समन गुरुङले जानकारी दिए । उनका अनुसार बर्थ डे सेलेब्रेसनमा विद्यार्थीले भनेका थिए्,‘जन्मदिनको धेरै धेरै शुभकामना सुजन सर । सधैं बाहिर निस्कनु भएकोमा धन्यवाद, र हाम्रो लागि उत्कृष्ट दिनु भएकोमा, हाम्रो साथी भएकोमा धन्यवाद, हामीलाई ठूलो परिवार जस्तो महसुस गराउनु भएकोमा धन्यवाद । यो शरारत एक लिल ओभरबोर्डमा गएको हुन सक्छ, तर तपाईंको प्रयासले स्पष्ट रूपमा देखाउँछ कि तपाईं प्रत्येकको कति ख्याल गर्नुहुन्छ । माया र फूलको गुच्छा पठाउँदै’ ।
विद्यार्थीको सरप्राइज बर्थ डे सेलेब्रेसन र मायाले शिक्षक लम्साल गद्गद् छन् । विद्यार्थीको माया र सम्मानले आफूले गर्वानुभूति महशुष गरिरहेको शिक्षक लम्सालले बताए । विद्यार्थीको माया र सम्मानप्रति म सँधै ऋणी र अनुग्रहित छु,उनले भने,यो मेरो लागि जीवनको असाध्यै ठूलो सम्पती हो । माया, स्नेह र सम्मानका लागि विद्यार्थीहरुलाई धेरैधेरै धन्यवाद ।’
शिक्षक लम्सालले शिक्षक र विद्यार्थी फरक भएपनि सम्बन्ध राम्रोहुँदा त्यसको प्रभाव सकारात्मक हुने बताए । शिक्षक, शिक्षक हो अनि विद्यार्थी विद्यार्थी हो,उनले भने,‘विद्यार्थीले म शिक्षकसँग छु भन्ने बिर्सनुचाहिं हुँदैन तर शिक्षकले विद्यार्थीलाई साथीजस्तै व्यवहार गर्दा, उनीहरुसँग हाँस्दै, रमाउँदै पढाउँदा पढाई प्रभावकारी हुन्छ, मैले त्यस्तै गरेर पढाएकैले होला विद्यार्थीले मलाई यो किसिमको सम्मान, माया र स्नेह देखाएको ।’ विद्यार्थीको सरप्राइज बर्थ डेसँगै पाएको माया र सम्मानले आफूलाई विद्यार्थीको पढाईमा समर्पण र उर्जा थपेको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







