पोखराको महेन्द्रपुलमा बन्यो अन्तरराष्ट्रिय झण्डापार्क, अवलोकनका लागि खुल्ला


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०८० मा प्रकाशित




पोखरा, फागुन ७

सुन्दर नगरी पोखरा पर्यटकीय सहर हो । यहाँबाट देखिने हिमश्रृंखला, नदीनाला, तालतलैयादेखि प्राकृतिक छटाका कारण पोखरा विश्वमै सुन्दर नगरीको रुपमा परिचित छ । पर्यटकीय नगरीमा पर्यटकीय गन्तव्यहरु धेरै छन् । फेवाताल, बेगनास ताल, रुपातालसहित यहाँका ९ वटै तालहरु, महेन्द्र गुफा, चमेरेगुफादेखि गुप्तेश्वर गुफासम्म, सूर्योदय अवलोकन गर्न उत्कृष्ट स्थान सराङकोटदेखि शान्ति स्तुपा अनि महादेवको मूर्ती भएको पुम्दीकोट, सेती गल्छीदेखि अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालयलगायतका पर्यटकीय गन्तव्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।

पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा पर्यटकीय गन्तव्य थपिएको छ । सुन्दर नगरी पोखरामा पर्यटकीय गन्तव्यका रुपमा ‘अन्र्तराष्ट्रिय झण्डा पार्क’ थपिएको हो । पोखरा महानगरपालिका वडा नम्बर(९ महेन्द्रपुल चोकमा निर्माण भएको सो ‘अन्र्तराष्ट्रिय झण्डा पार्क’ सुन्दर नगरी पोखरामा अर्को एउटा सुन्दरता थपिएको हो भने यो प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एमले ७० लाख रुपैयाँ खर्चे बनाएको सो झण्डापार्क सोमबारदेखि खुल्ला गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा सोमबार विहान आयोजित एक समारोहकाबीच झण्डापार्कको उद्घाटन गरे ।

उद्घाटन समारोहको अवसर पारेर लायन्स क्लव अन्र्तराष्ट्रियले झण्डापार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । कार्यक्रममा लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगर प्रमुख आचार्यलाई झण्डापार्कको साँचो हस्तान्तरण गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्र्तराष्ट्रिय झण्डापार्क पोखराको प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे । पोखरा आफैमा सुन्दर छ,उनले भने,‘झण्डापार्क निर्माणले पोखरामा अर्को एउटा सुन्दरता थपेको छ । र यो प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनेछ भन्ने विश्वास लिएको छु ।’

मेयर आचार्यका अनुसार झण्डा पार्कसँगै व्यवस्थित पार्क, सौचालय, फल्चा, मड्का चिया सप, पत्रपत्रिका एवम् डिजिटल डिस्प्ले लगायतका संरचनापनि रहेकाले यसले पर्यटकलाई थप आकर्षित र समय व्यतित गर्न सहज हुनेछ । झण्डा पार्कले विश्वका विभिन्न देशबाट आउने पर्यटक र आन्तरिक पर्यटकलाई आकर्षित गर्ने मेयर आचार्यको विश्वास छ । उनले भने,‘जोकोहीलाई पनि आफ्नो राष्ट्र र राष्ट्रियता प्यारो हुन्छ । अनि आफ्नो देशको झण्डाको छुट्टै माया हुन्छ र त्यो देख्दा खुशी लाग्छ । यहाँको झण्डा देखेर पर्यटकले अपनत्व महसुस गर्दै आफ्नो राष्ट्रको स्मरण गर्नेछ ।’

अन्तराष्टिय निर्देशक बालकृष्ण बुर्लाकोटीले झण्डापार्कले पोखराको सुन्दरतामा नया आयाम थपेको बताए । उनले झण्डापार्क हस्तान्तरणले संयुक्त राष्ट्रसंघको र लायन्स क्लवका संस्थापकको समेत सम्मान भएको उल्लेख गरे ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत स्यामकृष्ण थापाले झण्डा पार्क विश्वकै नयाँ प्रयोग भएको बताए । विश्वका सबै राष्ट्रको सार्बभौमलाई झण्डाले सम्मान गरेको उनको भनाई थियो ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले झण्डापार्क पोखराको गौरव भएको र यो आफ्नो वडामा बनेकोमा गर्वानुभूति महशुष भएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।