पोखरा महानगर कार्य सम्पादनका आधारमा सबैभन्दा कमजोर


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०८० मा प्रकाशित




पोखरा, फागुन ९

पोखरा महानगरपालिका कार्य सम्पादनमा देशकै सबैभन्दा कमजोर देखिएको छ । देशका ६ महानगरमध्ये पोखरा महानगरपालिका कार्य सम्पादनका आधारमा सबैभन्दा सबैभन्दा कमजोर देखिएको हो । १७ वटा सूचकमा आधारित भएर गरिएको मूल्यांकनमा पोखरा महानगरपालिका ६ महानगरमध्येको पुछार अर्थात छैटौं नम्बरमा परेको हो ।

पोखराका मेयर धनराज आचार्यले पोखरा महानगरपालिका कार्य सम्पादनका आधारमा अब्बल रहेको दाबी गर्ने गरेका छन् । पोखरा महानगरको कार्य सम्पादन अन्य महानगरसँग तुलनासम्म नहुने उनले गर्दै आएका थिए । तर प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा मेयर आचार्यको दाबी विपरित पोखरा महानगरमध्ये सबैभन्दा पुछारमा परेको हो ।

पोखरा महानगरपालिकाले कुल एक सय अंकमा २०.७४ अंक मात्र प्राप्त गर्दै पुछारमा रहँदा भरतपुर महानगरपालिका पहिलो नम्बरमा कायम छ । अघिल्लो वर्षपनि पहिलो नम्बरमै रहेको भरतपुरले यस वर्षपनि कार्य सम्पादनमा अब्बल ठहरिदै महानगरमध्ये भरतपुर नम्बर वान बन्न सफल भएको छ । भरतपुरले कुल एक सय अंकमा ५६.२९ अंक ल्याएको छ । यो पोखरा महानगरपालिकाले प्राप्त गरेको अंकभन्दा झण्डै तेब्बर बढी अंक हो ।

देशको राजधानी रहेको काठमाडौं महानगरपालिका ३९.०२ अंक प्राप्त गरेर कार्य सम्पादनको आधारमा दोश्रो नम्बरमा कायम रहँदा वीरगञ्ज महानगरपालिकाले ३३.४९ अंक प्राप्त गर्दै तेश्रो, विराटनगर महानगरपालिकाले ३२.८५ अंक प्राप्त गर्दै चौथो र ललितपुर महानगरपालिले २५.१८ अंक प्राप्त गर्दै कार्य सम्पादनको आधारमा पाँचौं नम्बरमा रहेको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले हरेक वर्ष कार्य सम्पादनका आधारमा मूल्यांकन गर्ने गरेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले असार १० गतेभित्र बजेट ल्याए/नल्याएको, असार ३० गतेभित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएकोलगायतलाई मूल्यांकनको आधार बनाएर अंक दिने गरेको छ ।

त्यस्तै, स्थानीय तहले आगामी आवको आय÷व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले समेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरे÷नगरेकोजस्ता आधारमा पनि अंक निर्धारणमा भूमिका खेल्छ । यसैगरी, आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग लगायतका पक्ष पनि हेरिने गरेको जनाइएको छ ।

यसका अलावा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको, स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत सूचकमा राखेर त्यसका सूचकहरुमा विश्लेषण गरेर मूल्यांकन गर्ने गरिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।